दुई वर्षपछि युट्युबमा फर्किँदै डोनाल्ड ट्रम्पले भने- आइ एम ब्याक!

दुई वर्षपछि युट्युबमा फर्किँदै डोनाल्ड ट्रम्पले भने- आइ एम ब्याक!

एजेन्सी : दुई वर्षको मौनतापछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि युट्युबमा फर्किएका छन्।

उनले आफ्नो युट्युब च्यानल र आफ्नो फेसबुक पेजमा ११ सेकेन्डको भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘आइ एम ब्याक!’

चुनावी र्यालीमा सम्बाेधन गर्दै उनले भनेका छन्, ‘तपाईंहरूलाई पर्खाएकोमा क्षमा चाहन्छु, यो जटिल विषय हो।’

सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि उनका समर्थकले वाशिङटनको क्यापिटल हाउसमा आक्रमण गरेपछि उनको सामाजिक सञ्जाल अकाउन्ट फ्रिज गरिएको थियो।

उनलाई सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई आक्रमण गर्न उक्साएको आरोप लागेको थियो।

उनी फेरि एकपटक राष्ट्रपतिको निर्वाचनमा लड्ने तयारीमा छन्। यसैलाई मध्यनजर गर्दै उनलाई फेरि सामाजिक सञ्जालमा आउन अनुमति दिइएको हो।

युट्युबले चुनाव लड्ने सबै प्रमुख उम्मेदवारको कुरा सुन्न पाउने अधिकार मतदातालाई रहेको जनाएको छ।

यस वर्षको जनवरीमा ट्रम्पले फेसबुक र इन्स्टाग्राममा पनि पुनरागमन गरेका थिए। उनको ट्विटर खाता पनि गत वर्ष नोभेम्बरमा रिस्टोर गरिएको थियो।

अमेरिकी नागरिक स्वतन्त्रता संघले यो निर्णयको स्वागत गरेको छ। यद्यपि, मिडिया म्याटर्स जस्ता केही वकालत गर्ने समूहहरूले यसको आलोचना गरेका छन्।

सार्वजनिक सुरक्षाको लागि खतरा हुनसक्ने विषयलाई फेसबुकको मातृसंस्था मेटाले बेवास्ता गरेको उनीहरूको आरोप छ।

४ चैत, २०७९, ०८:५९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।