धुलाम्मे बुटवल (तस्बिरहरू)

धुलाम्मे बुटवल (तस्बिरहरू)

बुटवल : बुटवल–बेलहिया व्यापारिक आयोजना अन्तर्गत बुटवलको चौराहदेखि गोलपार्क सम्मको सडक सुस्त गतिमा निर्माण हुँदा जनताले सास्ती खेपेका छन्।

आगामी असार मसान्तसम्म निर्माण पूरा हुने भनिए पनि अहिले साढे तीन किलोमिटर सडकको जम्मा ३० प्रतिशत मात्र काम भएको छ। २०७९ चैतसम्ममा ७० प्रतिशत काम पूरा गर्ने भनिएकोमा अहिलेसम्म ३० प्रतिशत काम भएको हो।

काममा ढिला गरेपछि सडक डिभिजन कार्यालयले गत फागुन ४ गते एक सूचना प्रकाशित गर्दै ठेकेदार कम्पनीहरूलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको थियो। त्यसपछि कम्पनीले काम छिटो सम्पन्न गर्ने बताएको छ। तर, पनि काम सुस्त गतिमा छ।

बिहान मात्र ठेकेदारले सडकमा पानी राखे पनि दिउँसोदेखि साँझसम्म बुटवलको सडकको धुलाले ढाक्ने गरेको छ। औद्योगिक नगरी र व्यापारी नगरी बुटवलको परिचय अहिले ‘धुले बुटवल’को रूपमा परिचित हुन थालेको छ।

सडक डिभिजन कार्यालय, बुटवलका इन्जिनियर महेश्वर लम्साल समयमै काम सम्पन्न गर्ने स्पष्ट आधारसहित स्पष्टिकरण सोधिएकोमा निर्माण कम्पनीले त्यहि अनुरुपको जवाफ पठाएको बताए।

निर्माण कम्पनी ‘द कञ्चनजंघा बिरूवा जेभी’ ले बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत तीन खण्डमा अलग–अलग ठेक्का लिएको छ।

तीस महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०७३ साल चैत १७ गते साढे तीन किलोमिटर सडकको ठेक्का सम्झौता भएको थियो। सम्झौताको ७२ महिना अर्थात ६ वर्ष पूरा भएको छ।

६ वर्षमा पनि काम सम्पन्न नभएपछि निर्माण कम्पनी म्याद थप गराउन लागि परेको छ। यसअघि तेस्रो पटक थपिएको म्याद आगामी असार मसान्तमा सकिँदैछ।

अहिले बसपार्कदेखि फाइनान्स सम्मको सडक क्षेत्रलाई वान वे गराएर सडक निर्माणको काम गरेको ठेकेदार कम्पनीले मिलनचोक, बसपार्क अगाडि क्षेत्रमा एक लेयर कालोपत्रे समेत गरिसकेको छ।

रफ्तारमा काम गर्नुपर्ने भए पनि ढिलाइ गर्दा महिना दिनदेखि नै सडक वान वे गराउँदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ।

बसपार्कदेखि अस्पताल लाइनको सडकको मेन क्याजवे कालोपत्रे भए पनि सर्भिस लेनको काम भने अधुरै छ। ट्राफिकचोक देखि गोलपार्क सम्मको सडक क्षेत्रमा पनि सर्भिस लेनको काम सुस्त गतिमा भइरहेको छ। पुष्पलाल पार्कको अवस्था भने बेहाल बनाएर निर्माण कम्पनीले छाडेको छ।

सुरुवाती समयमा अदालती प्रक्रियाका कारण ढिला हुन पुगेको सडक निर्माणको काम पछि भने निर्माण कम्पनीकै ढिलाइले ६ वर्षसम्म पनि सडक नबनेको हो। यतिसम्मकी स्थानीय तहको निर्वाचनको बेलामा बुटवलको यहि सडक नै राजनीतिक चुनावी एजेण्डा बन्न पुग्यो।

कुल २७ किलोमिटरको ‘बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजना’ अन्तर्गत ‘द कञ्चनजंघा बिरूवा जेभी’ ले तीन वटा ठेक्का लिएको छ। तीन वटै काम पूरा गरेको छैन।

यही सडक आयोजना अन्तर्गत भन्सारनाका बेलहियाबाट डण्डाखोला पुलपारीसम्मको सडकमा चार वर्षदेखि काम हुन सकेको छैन।

अञ्चलपुरदेखि लखनचोकसम्मको सडक ‘बिरुवा एपेक्स श्रेष्ठ जेभी’ का नाममा र भन्सारनाका बेलहियाबाट डण्डाखोला पुलपारीसम्म ‘द कञ्चनजंघा बिरूवा जेभी’ का नाममा ठेक्का सम्झौता गरिएको छ।

यी दुवै ठेक्काका आधिकारिक प्रतिनिधि एकै व्यक्ति सुवित श्रेष्ठ रहेका छन्।

बुटवलको साढे तीन किलोमिटर सडक निर्माणका लागि ४७ करोड ३२ लाखमा ठेक्का लिएको ‘द कञ्चनजंघा बिरूवा जेभी’ ले हालसम्म १३ करोड ८५ लाख रुपैयाँ रकम लगिसकेको छ।

३ चैत, २०७९, १७:५३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।