यी हुन् विश्वकप लिग–२ का उत्कृष्ट १० ब्याटर र बलर, सन्दीप र करण कति नम्बरमा?
काठमाडौं : बिहीबार आईसीसी विश्वकप क्रिकेट लिग–२ सकिएको छ। कीर्तिपुरमा भएको नेपाल र युएईको खेलसँगै लिग–२ को प्रतियोगिता पनि अन्त्य भएको हो।
स्कटल्याण्ड, ओमान, नेपाल, नामिबिया, अमेरिका, युएई र पपुवान्यूगिनी(पीएनजी) गरी यो प्रतियोगितामा सात देशको सहभागिता थियो। यहाँ भएका प्रत्येक टिमले ३६ खेल खेलेका थिए।
सात देशमध्ये स्कटल्याण्ड, ओमान र नेपालले जिम्बावेमा हुने विश्वप छनोटमा स्थान बनाएका छन् भने बाँकी टिमकले क्यानडा र जर्सीको साथमा आगामी हप्तादेखि नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्दैछन्।
प्रतियोगिता सकिएसँगै आईसीसीले लिग–२ मा सबैभन्दा धेरै रन ल्याउने ब्याटर र सबैभन्दा बढि विकेट लिने १०–१० जनाको नाम सार्वजनिक गरेको छ।
आईसीसीका अनुसार लिग–२ मा गेरहार्ड इरास्मसले सबैभन्दा बढि १२९८ रन ल्याए। तर उनको टिम नामिबिया विश्वकप छनोटमा स्थान बनाउन असफल भयो।
नामिबियाका दायाँहाते ब्याटर इरास्मसले ३३ पारीमा १२ वटा अर्धशतक बनाए भने ओमानविरुद्धको खेलमा शतक बनाउँदै १२१ रन नटआउट खेले। यो उनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो।
दोस्रो स्थानमा १२९० रन बनाउँदै पीएनजीका असद भाला रहँदा अमेरिकाका मोनंक पटेलले १२१९ र आरोन जोन्सले ११८४ रन बनाउँदै क्रमशः तेस्रो र चौथो स्थानमा रहे।
ओमानका जतिन्दर सिंहले १०९८ रन बनाउँदै पाँचौं बन्दा स्कटल्याण्डका काइल कोएट्जर र क्यालम क्याकलियोडले छैटौं र सातौं स्थान बनाउँदै क्रमशः १०६२ र १०५१ रन जोडे।
युएईका वृत्य अरिविन्ले १०४७ रन बनाउँदै आठौं बन्दा ओमानका जिसन मकसुद ९६९ रनसहित नवौं र स्कटल्याण्डका जर्ज मुन्सी ९४४ रनसहित दशौं उत्कृष्ट ब्याटर बने।
अब लागौं बलिङतर्फ। बलिङमा ओमानका बिलाल खानले सबैभन्दा धेरै विकेट लिए। लिग–२ का ३५ खेल खेलेका बायाँहाते तीव्रगतिका बलर खानले ७६ विकेट लिए।
नेपालका सन्दीप लामिछानेले ३० खेलमा ७२ विकेट लिएर दोस्रो स्थानमा रहँदा अमेरिकाका सौरभ नेत्रवालकर ५८ विकेटसहित तेस्रो स्थानमा छन्।
चौथो, पाँचौं र छैटौं स्थानमा रहेको स्कटल्याण्डका मार्क वाट, नामिबियाका रुबेन ट्रम्पेलम्यान र नेपालका करण केसीले क्रमशः ५४, ५१ र ५० विकेट लिए।
नामिबियाका बर्नार्ड शोल्ट्ज ४९ विकेटसहित सातौं हुँदा ओमानका जिसन मकसुदले ४७ विकेट लिएर आठौं बने।
नवौं र दशौं स्थानमा युएईका जुनैद सिद्दीकी र जहुर खान रहे। उनीहरूले क्रमशः ४३ र ४१ विकेट हात पारे।
चैत ३, २०७९ शुक्रबार १४:५३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।