प्रचण्ड रणनीति : चैत ६ मा विश्वासको मत लिने अनि मात्र सरकार विस्तार

प्रचण्ड रणनीति : चैत ६ मा विश्वासको मत लिने अनि मात्र सरकार विस्तार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ बढी विश्वासको मत पाएको साढे दुई महिनामै दोस्रो पटक विश्वासको मत लिने भएका छन्।

एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि उनले संवैधानिक प्रावधान अनुसार चैत ६ गते विश्वासको मत लिन लागेका हुन्।

प्रचण्ड पुस १० गते एमालेसहितको सात दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएर पुस २६ मा विश्वासको मत लिएका थिए।

संसदमा प्रतिनिधित्व गर्ने १२ दलमध्ये १० दलका २ सय ६८ सांसदले प्रचण्डलाई विश्वासको मत दिएका थिए। समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ।

राप्रपाले फागुन १३ गते र एमालेले फागुन १५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सो अनुसार प्रचण्डले चैत १२ भित्र विश्वासको मत लिनुपर्छ।

सोही प्रावधान अनुसार उनले चैत ६ मा विश्वासको मत लिने सूचना संसद सचिवालयलाई गराएका हुन्। अहिले प्रचण्डलाई १० दलको समर्थन देखिन्छ।

काँग्रेस ८९, माओवादी ३२, जसपा १२, एकीकृत समाजवादी १०, जनमत ६, लोसपा ४, नागरिक उन्मुक्ति ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद जोडिँदा १५७ सांसद पुग्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू निरन्तर प्रचण्डसँग संवादमा देखिन्छन्। १३८ मत आएमा प्रचण्डले विश्वासको मत पाउनेछन्।

प्रचण्ड उपराष्ट्रपतिको निर्वाचन सक्काएर विश्वासको मत पनि लिएर अनि सरकार विस्तार गर्ने पक्षमा छन्। एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी अनि राष्ट्रिय प्रजातन्त्र पार्टीले छाडेका मन्त्रालयहरू समेत अहिले प्रचण्डसँगै छ।

२ चैत, २०७९, ००:१७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।