प्रधानमन्त्री र सञ्चारमन्त्रीले धोका दिएपछि‍‍‍...

प्रधानमन्त्री र सञ्चारमन्त्रीले धोका दिएपछि‍‍‍...

काठमाडौं : नेपाल इन्टरनेसल फिल्म फेस्टिभल (निफ) को छैंटौं संस्करणको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने बताए पनि उनी आएनन्।

अन्तिम समयमा उपराष्ट्रपतिको निर्वाचनको कारण देखाउँदै आएनन्। कार्यक्रममा चलचित्र विकास बोर्डले सरकारको प्रतिनिधित्व गरेको थियो।

प्रधानमन्त्री र संञ्चारमन्त्री दुवैले निम्ता स्वीकार गरेर पनि अन्तिम समयमा कार्यक्रममा नआएपछि फेस्टिवल सञ्चालक केपी पाठक आक्रोशित देखिए।

उनले प्रधानमन्त्रीले कला संस्कृति र फिल्म भन्दा उप-राष्ट्रपतिको निर्वाचनलाई बढी महत्त्व दिएको आरोप लगाए। विभिन्न देशका प्रतिनिधि सहभागी फेस्टिवलमा गतिलो ठाउँबाट देशको प्रतिनिधित्व नभएको उनको गुनासो थियो।

निमन्त्रणा दिएको व्यक्ति उपस्थित नहुने मात्रै हैन, महोत्सवको ओपनिङ फिल्म 'चरी'ले पनि उपस्थित दर्शकको मन खुसी पार्न सकेन।

सुन्धाराको सिभिल मलमा तामझामसँग सुरु भएको महोत्सवको ओपनिङ फिल्मका रूपमा केरिन शर्माले निर्देशन गरेको 'चरी' नामको फिल्म प्रदर्शन भएको थियो।

एक जोडी प्रेमी प्रेमीकाले विदेश उड्न गरेका अपराध र हनी ट्रयापिङ जस्तो गम्भीर र संवेदनशील विषय फिल्ममा देखाइएको थियो। तर फिल्मको संवाद लेखन, खिचाइ, एडिटिङ सबै झुर थियो।

६ गतेसम्म हुने महोत्सवमा नेपालसहित ३५ देशका ९५ वटा फिल्म प्रदर्शन गरिनेछ। ती फिल्म संसारका ५५ देशबाट प्राप्त ५ सय बढी फिल्मबाट छानिएको हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरूको ७ विधामा १४ पुरस्कार वितरण गरिनेछ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड, प्रदान गरिनेछ भने इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजका जुरीको तर्फबाट डन क्विजोट अवार्ड पनि प्रदान गरिनेछ।

सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट सर्ट फिल्मलाई ५ सय डलरको बाग्मती अवार्ड प्रदान गरिनेछ।

नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार  र सर्टमध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ।

फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने छ।

यस पटकबाट निफका प्रतिस्पर्धी फिल्म सिनेमा हलमा प्रदर्शन गरिनेछ। देशको ठुलो मल्टिप्लेक्स च्यानल क्युएफएक्स सिनेमाको छाया सेन्टर सिभिल मल, लविम मल र भक्तपुर हलमा प्रदर्शन हुनेछ।

निफमा विविध कार्यशाला, अन्तर्क्रिया र छलफल कार्यक्रमसमेत सञ्चालन हुनेछन्।

२ चैत, २०७९, २२:०९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।