कर्जा उठाउन गएका एनआइसी एसिया बैङ्कका कर्मचारी कुटिए

कर्जा उठाउन गएका एनआइसी एसिया बैङ्कका कर्मचारी कुटिए

काठमाडौँ : कर्जा उठाउन गएका एनआइसि एसिया बैङ्कका कर्मचारी आक्रमणबाट घाइते भएका छन्।  कर्जा उठाउन उनी म्याग्दीबाट पर्वत गएका थिए।

आक्रमणबाट प्रकाश आले घाइते भए भने अर्को एक कर्मचारीमाथि दुर्व्यवहार भएको थियो।

कर्जाको पैसा माग्दा विवाद हुँदा उनलाई पर्वतको जलजला गाउँपालिका-२ का ४० वर्षीय कृष्णबहादुर मल्लले कुटेको प्रहरीले जानकारी दिएको छ।

बैङ्क सञ्चालकहरूको संस्था सीबीफीनले बिहीबार विज्ञप्ति जारी गरेर म्याग्दीको एनआईसी एसिया बैङ्कका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि साङ्घातिक आक्रमण भएको उल्लेख गरेको छ।

संस्थाले सापकोटा र आलेमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ।

बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरूमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण बढ्दै गएको भन्दै त्यस्ता कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सीबीफीनको माग छ।

जाजरकोटमा कर्मचारीमाथि गरिएको दुर्व्यवहार, मकवानपुरमा कुमारी बैङ्कको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादती तथा म्याग्दीमा बैङ्कका कर्मचारीमाथि ज्यान लिने गरी आक्रमण गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको सीबीफीनले जनाएको छ।

पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैँक तथा वित्तीय संस्था विरुद्ध गतिविधि चलाउँदै आएका छन्। उनले कर्जा नतिर्न र कर्जा माग्न आए कालोमोसो दल्न भनेर कालोमोसो दस्ता समेत सार्वजनिक गरेका थिए।

चैत २, २०७९ बिहीबार २१:१३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।