‘बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन सरकार दृढ’
काठमाडौं : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकार चीनको बेल्ट एण्ड रोड (बीआरआई) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन दृढ रहेको बताएका छन्।
सो परियोजनाको कार्यान्वयनमा केही ढिलाइ भएको स्वीकार गर्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन नेपाल सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे।
बिहीबार काठमाडौंमा आयोजित ‘चाइना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो परियोजनाको सफल र शीघ्र कार्यान्वयनमा नेपालको हितमा रहेको उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजना अन्तरगत नेपालले ठूला पूर्वाधारको विकासमा सहयोग र सहकार्यको अपेक्षा गरेको पनि स्पष्ट पारे। यसका लागि विभिन्न मोडालिटीका विषयमा दुई मुलुकबीच छलफल भइरहेको स्मरण गराउँदै उनले नेपालले त्यसलाईं ठोस निष्कर्षमा पुर्याउन चाहेको समेत बताए।
चैत २, २०७९ बिहीबार १५:४२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।