डेथ ओभरमा खराब बलिङ गर्दा नेपाललाई ३११ रनको विशाल लक्ष्य, आसिफ खानले हाने ४१ बलमा कीर्तिमानी शतक
काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत अन्तिम तथा निर्णायक खेलमा यूएईविरुद्ध जितका लागि ३११ रनको विशाल लक्ष्य पाएको छ।
नेपालले अन्य खेलमा जस्तो धारिलो बलिङ गर्न नसक्दा यूएईले निर्धारित ५० ओभरमा मात्र ६ विकेट गुमाएर ३१० रनको योगफल तयार पार्यो।
नेपालले विशेषगरी डेथ ओभरमा निकै खराब बलिङ गर्दा यूएईले यति ठूलो स्कोर बनाएको हो। यूएईले अन्तिम ६ ओभरमा मात्र १०२ रन जोडेको थियो।
जसका लागि यूएईका आसिफ खानले मात्र ४१ बलमा कीर्तिमानी शतक हाने।
एशोसियट क्रिकेटमा कुनै पनि ब्याटरले हानेको यो सबैभन्दा कम बलको शतक हो।
टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले राम्रो सुरुवात गर्दै १६ औं औभरमा मात्र एक विकेटको नोक्सानीमा ९५ रन जोडेको थियो।
ओपनर मोहम्मद वासिमले मात्र ४९ बलमा २ चौका र ६ छक्कासहित अर्धशतकीय पारी खेल्दै ६३ रन बनाएका थिए।
स्टार स्पिनर सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गरिरहेका वासिमको विकेट लिएपछि भने नेपाल खेलमा फर्किएको थियो।
जहाँ २८ ओभरको खेल सकिंदासम्म यूएईले १२९ रनमा ४ विकेट गुमाइसकेको थियो। तर मध्यक्रमका ब्याटर वृत्य अरविन्द र आसिफ खानले सानदार ब्याटिङ गर्दै यूएईलाई बलियो अवस्थामा पुराए।
आसिफ खानले माात्र ४१ बलमा शतक पूरा गर गर्दा ४२ बलमा ४ चौका र ११ छक्कासहित अविजित १०१ रनको योगदान दिए।
त्यसैगरी अरविन्दले १३८ बलमा ८ चौका र २ छक्कासहित अर्धशतकीय पारी खेल्दै ९४ रन बनाएका थिए।
यी दुईले छैठौं विकेटका लागि १३५ रनको साझेदारी गरेका थिए।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दुई तथा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक/एक विकेट लिएका थिए।
अब यो विशाल लक्ष्य पुरा गर्दै यूएईलाई हराउन सके नेपालले सोझै विश्वकप छनोट खेल्न पाउनेछ। यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोट आगामी जुन/जुलाईमा जिम्बावेमा हुँदैछ।
सिधै विश्वकप छनोटमा पुग्नुको अर्थ नेपालले दक्षिण अफ्रिका, वेष्ट इण्डिज, श्रीलंका मध्येका टेष्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न पाउनु हो।
तर यसका लागि आजका खेलमा स्पष्ट जित बाहेक नेपालसँग अर्को विकल्प छैन। यदि यो खेल हारेमा नेपालको ठाउँमा नामिबिया सोझै विश्वकप छनोटमा पुग्नेछ।
त्यसैगरी वर्षाको कारण खेल नभएमा वा बराबरीका कारण अंक बाँड्नु परेमा पनि नामिबियालाई फाइदा हुनेछ।
यस लिगमा ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ। यी दुवै सोझै विश्वकप छनोटमा पुगिसकेका छन्।
लिगका शीर्ष तीन टिम सोझै विश्वकप छनोटमा पुग्ने नियम छ। यो खेल यस सिरिजको मात्र नभइ लिग-२ प्रतियोगिताको नै अन्तिम खेल हो।
नामिबिया ३६ खेलमा १९ जितका साथ ३९ अंक जोडेर लिगको तेस्रो स्थानमा छ। ३५ खेलबाट १८ जितपछि चौथो स्थानमा रहेको नेपालको भने ३८ अंक छ।
यदि आजको अन्तिम खेल जितेमा ४० अंकका साथ नामिबियालाई पछि पार्दै नेपाल लिगको शीर्ष तीनभित्र पर्दै सोझै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ।
आजको खेलमा अंक बाँड्नु परेमा भने नेपाल र नामिबिया दुवैको समान ३९ अंक हुनेछ। तर नेपाल भन्दा बढि खेल जितेको आधारमा नामिबिया सोझै विश्वकप छनोटमा पुग्नेछ।
तर हार वा बराबरीका बाबजुद पनि नेपालको विश्वकप छनोटमा पुग्ने ढोका भने पूर्ण रुपमा बन्द हुने भने होइन। सिधै विश्वकप छनोटमा पुग्नु सकेन भने नेपालले यसका लागि क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।
यसै महिना नामिबियामा हुने क्वालिफायर प्लेअफमा यस लिगका अन्तिम चार स्थानमा रहने टिमले जर्सी र क्यानडासँग प्रतिस्पर्धा गर्नेछन्। जसमध्येबाट शीर्ष दुई टिम विश्वकप छनोटमा पुग्नेछन्।
चैत २, २०७९ बिहीबार १३:२५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।