यूएईसँग निर्णायक खेल खेल्दै नेपाल, आजको खेल जिते सिधै विश्वकप छनोटमा
काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा आज यूएईको सामना गर्दैछ।
यो यस सिरिजको मात्र नभइ लिग-२ प्रतियोगिताको नै अन्तिम खेल हो।
टीयू मैदानमा हुने यस खेलमा यूएईलाई हराउन सके नेपालले सोझै विश्वकप छनोटमा खेल्न पाउनेछ। यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोट आगामी जुन/जुलाईमा जिम्बावेमा हुँदैछ।
सिधै विश्वकप छनोटमा पुग्नुको अर्थ नेपालले दक्षिण अफ्रिका, वेष्ट इण्डिज, श्रीलंका मध्येका टेष्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न पाउनु हो।
तर यसका लागि आजका खेलमा स्पष्ट जित बाहेक नेपालसँग अर्को विकल्प छैन। यदि यो खेल हारेमा नेपालको ठाउँमा नामिबिया सोझै विश्वकप छनोटमा पुग्नेछ।
त्यसैगरी वर्षाको कारण खेल नभएमा वा बराबरीका कारण अंक बाँड्नु परेमा पनि नामिबियालाई फाइदा हुनेछ।
यस लिगमा ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ। यी दुवै सोझै विश्वकप छनोटमा पुगिसकेका छन्।
लिगका शीर्ष तीन टिम सोझै विश्वकप छनोटमा पुग्ने नियम छ।
नामिबिया ३६ खेलमा १९ जितका साथ ३९ अंक जोडेर लिगको तेस्रो स्थानमा छ। ३५ खेलबाट १८ जितपछि चौथो स्थानमा रहेको नेपालको भने ३८ अंक छ।
यदि आजको अन्तिम खेल जितेमा ४० अंकका साथ नामिबियालाई पछि पार्दै नेपाल लिगको शीर्ष तीनभित्र पर्दै सोझै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ।
आजको खेलमा अंक बाँड्नु परेमा भने नेपाल र नामिबिया दुवैको समान ३९ अंक हुनेछ। तर नेपाल भन्दा बढि खेल जितेको आधारमा नामिबिया सोझै विश्वकप छनोटमा पुग्नेछ।
तर हार वा बराबरीका बाबजुध पनि नेपालको विश्वकप छनोटमा पुग्ने ढोका भने पूर्ण रुपमा बन्द हुने भने होइन। सिधै विश्वकप छनोटमा पुग्नु सकेन भने नेपालले यसका लागि क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।
यसै महिना नामिबियामा हुने क्वालिफायर प्लेअफमा यस लिगका अन्तिम चार स्थानमा रहने टिमले जर्सी र क्यानडासँग प्रतिस्पर्धा गर्नेछन्। जसमध्येबाट शीर्ष दुई टिम विश्वकप छनोटमा पुग्नेछन्।
विशेषगरी आजको खेलमा नेपाललाई घरेलु मैदान र समर्थकको ठूलो प्लस पोइन्ट रहनेछ।
सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई ७१ रनमै अल आउट गरेको थियो। यूएईविरुद्ध १७७ रनको कीर्तिमानी जित निकालेपछि नेपालले एकदिवसीय (ओडीआई) मान्यता अर्को चार वर्षको लागि जोगाएको थियो।
लिग-२ मा खेलेका पछिल्ला ११ खेलमा नेपालले मात्र एक खेल हारेको छ। जसको ठीक विपरीत यूएईले भने पछिल्ला १२ खेलमा मात्र २ खेल जितेको रेकर्ड छ।
चैत २, २०७९ बिहीबार ०८:११:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।