‘प्रेमा’ नेपालीसँगै हिन्दी, तमिल र तेलुगु भाषामा प्रदर्शन हुने

काठमाडौं : नेपाली चलचित्र ‘प्रेमा’ हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गोविन्दसिंह भण्डारीले नेपालीबाहेक अन्य भाषालाई ‘ओभर दी टप’ अर्थात् ओटिटीका माध्यमले दर्शकमा पुर्याइने जानकारी दिए।
‘मैले तेलुगु चलचित्रमा काम गरेको छु। त्यहाँका दर्शकलाई लक्षित गर्दै स्वराङ्कन गरिएको छ। यद्यपि नेपालमा भने नेपाली भाषामा मात्र प्रदर्शन हुनेछ,’ निर्देशक भण्डारीले भने, ‘हामीले अन्य दर्शक थप्ने हो भने स्वराङ्कनको विकल्प नै छैन। यसले ओटिटीमा स्थान पाएमा अन्य चलचित्रलाई समेत सजिलो हुनेछ।’
त्रिकोणात्मक प्रेम सम्बन्धलाई चित्रण गरिएको चलचित्रलाई काठमाडौं, धनगढी र कर्णालीमा छायाङ्कन गरिएको छ।
यसमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गरेका छन्।
चैत १७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘प्रेमा’ लाई उपत्यकामा जिजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ।
चैत १, २०७९ बुधबार २१:५०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।