छोडपत्र गर्दा पनि छाड्दैन पुरानो श्रीमानको थरले, बहुविवाहमा दोहोरो नागरिकताको डर

छोडपत्र गर्दा पनि छाड्दैन पुरानो श्रीमानको थरले, बहुविवाहमा दोहोरो नागरिकताको डर

काठमाडौं : बुधबार बिहान ११ बजे। जिल्ला प्रहरी परिसर काठमाडौंको टेकुमा रहेको कार्यालय परिसरमा झण्डै ६० वर्ष हाराहारी पुगेकी महिला भेटिइन्। उनको दुवै हातमा हतकडी लागेको थियो। उनलाई दुई महिला प्रहरीले दायाँ-बायाँ समाएका थिए।

उनी ८० वर्षे बृद्धातिर हेर्दै ‘आमा’ भन्दै रुँदै थिइन्। बृद्धा आँशु पुछ्दै छोरीलाई हेरिरहेकी थिइन्। ती महिलाको हातमा हतकडी लाग्नुको कारण खुल्यो- दोहोरो नागरिकता।

भ्यानमा राखेर प्रहरीले ती महिलालाई काठमाडौं जिल्ला अदालत ल्यायो। महिलाको बयान सकिएपछि साधारण तारेखमा छुटिन्।

उनी थिइन् बसुन्धरा दुवाडी। उनको साथमा २०२५ जन्ममिति उल्लेख भएको नागरिकता छ। तर, उनकी आमाका अनुसार उनी जन्मेको असली मिति २०२३ साल हो। उनले थाहै नपाइ बनेको नागरिकतामा २०२२ साल छ।

आमाको कसले स्याहार गर्ने भन्ने विषयमा पारिवारिक किचलो बढेपछि उनकै दाइले प्रहरीमा दोहोरो नागरिकता बनाएको उजुरी दिए। उनी समातिइन्।

बसुन्धराका बाबु सानैमा बिते। महिनावारी नहुँदै विवाह गरे पुण्य कमाइने लोभले उनकी आमाले ९ वर्षको उमेरमा उनको विवाह गरेर पठाइदिइन्।

बिहे गरेर गएको घरमा उनले राम्रो व्यवहार पाइनन्। श्रीमानको कुटपिट अनि दुर्व्यवहार त छँदै थियो, पछि काठमाडौंमा ल्याएर ४ हजारमा होटलमा काम लगाए। त्यो पैसा पनि कहिल्यै उनको हातमा परेन।

पहिलो श्रीमानबाट बसुन्धराको एक सन्तान जन्मियो। त्यो सन्तान अहिले पहिलो श्रीमानसँगै छ।

परिवारको दुर्व्यवहार सहन नसकेर उनी घरबाट भागिन्। साथमा उनलाई माया गर्ने एक युवक थिए। ती युवक सरकारी कर्मचारी हुन्।

दुवै जनाले विवाह गरे अनि दुई जना सन्तान पनि जन्मियो। जेठो छोरो अहिले २५ वर्षको भयो अनि छोरी २२ वर्षकी। दुवैको नागरिकतामा बाबुको नामसँग बसुन्धरा दुवाडी अटाएकी छन्।

तर, दुवाडी थर उनका लागि गह्रौं भइदियो। पहिलो बाबुको थर, पहिलो श्रीमानको थर र दोस्रो श्रीमानको थर। सानो हुँदा बसुन्धरा पाण्डे, पहिलो श्रीमान् हुँदा बसुन्धरा सिलवाल र अहिले बसुन्धारा दुवाडी। यी सबै स्वीकार्दा-स्वीकार्दै उनको हातमा हतकडी आइपुग्यो।

दोस्रो श्रीमानबाट नागरिकता बनाएको झण्डै २८ वर्षपछि उनले दोहोरो नागरिकता बनाएको मुद्दा खेप्नुपर्यो। मुद्दा हाल्ने उनकै दाइ थिए।

‘बुढी भएकी आमालाई दाजु-भाउजु मिलेर कुटपिट गर्ने, थुनेर राख्नेगर्ने गरेछन्। आमाले जम्मा गर्न दिएको पैसा खाता खोलेर चेक मात्रै थमाइदिएछन्, पैसा भने जम्मा गरिदिएनछन्,’ उनले उकेरासँग भनिन्, ‘यो सबै भइसकेपछि आमालाई मैले पाल्न पाऊँ भनेर प्रहरीमा निवेदन दिएँ। त्यसको फैसला आउन लाग्दैथियो, अहिले मेरै हातमा हतकडी लाग्यो।’

उनका अनुसार घुम्ती नागरिकता वितरण गर्ने समयमा उनको र आमाको नागरिकता बन्यो। दाजुले नै दुवैको नागरिकता बनाइदिएका थिए।

मनमायाले दुई वटै नागरिकता पटुकीमा कसेर हिँडेकी छन्। एउटा नागरिकताबाट वृद्धभत्ता थापिरहेकी छन् भने अर्कोबाट पेन्सन।

उनको पहिलो विवाह गोरखामा भयो। नागरिकता माइतीघर लम्जुङबाट बन्यो। त्यसमा श्रीमानको हस्ताक्षर छैन। उनको दाबीअनुसार दाइले सम्पत्ति आफ्नो नाममा गरेपछि आमाको नागरिकता दिए। उनलाई आफ्नो नागरिकता बनेकोबारे थाहै भएन।

बसुन्धरा पहिलो श्रीमानबाट नागरिकता बनेको पहिल्यै थाहा भएको भए पुरानो रद्द गरेर मात्र नयाँ बनाउने बताउँछिन्। तर, उनले चालै नपाइ दाइले नागरिकता बनाइदिएर आफूसँगै राखे।

यता दोस्रो श्रीमानको नामबाट उनले अर्को नागरिकता बनाइन्। आमाको कसले स्याहार गर्ने भन्ने विषयमा पारिवारिक किचलो बढेपछि उनकै दाइले प्रहरीमा दोहोरो नागरिकता बनाएको उजुरी दिए। उनी समातिइन्।

‘थाहै नपाइ बनेको, कतै प्रयोग नभएको नागरिकता नम्बर मात्रै भएको नागरिकतालाई लिएर मलाई हतकडी लगाए,’ उनले भनिन्।

०००

बसुन्धरा जस्तै पीडामा रहेकी अर्की भेटिइन् मनमाया खत्री (नाम परिवर्तन)। बसुन्धराको हातमा हत्कडी नै लाग्यो। उनले त्यो भोगिसकेकी छैनन्। तर, कहिले आपत् आइलाग्ने हो भन्ने डरमा रहिछिन् उनी।

मनमायाले तीनवटा विवाह गरिन्। पहिलो श्रीमानबाट नागरिकता नबन्दै अर्को श्रीमानसँग विवाह गरेकी उनको पनि दुई वटा नागरिकता छ- दोस्रो अनि तेस्रो श्रीमानको नामबाट।

मनमायाले दुई वटै नागरिकता पटुकीमा कसेर हिँडेकी छन्। उनले एउटा नागरिकताबाट वृद्धभत्ता थापिरहेकी छन्। अर्को नागरिकताबाट पेन्सन लिइरहेकी छन्। उनलाई दुई वटा नागरिकता प्रयोग गर्नु गैरकानूनी हो भन्नेसमेत थाहा रहेनछ।

‘तीनवटा बिहे गरेँ। पहिलोले मलाई छोड्यो, दोस्रोलाई मैले छाडेँ। तेस्रो श्रीमान् बितेको चार वर्ष भयो,’ उनले भनिन्, ‘तेस्रो श्रीमान् भारतको लाहुरे थिए, पेन्सन आउँछ। दोस्रो श्रीमानको नागरिकताबाट वृद्धभत्ता।’

उनका छोराछोरी वैदेशिक रोजगारीका लागि देशबाहिर छन्। उनी घरेलु कामदारको सहयोगीका साथमा काठमाडौं बस्छिन्। पेन्सन अनि भत्ता बैंकको खातामा आउँछ।

दुई वटा नागरिकता भएकाले बेलाबखत कुनबाट पेन्सन, कुनबाट वृद्धभत्ता भन्ने ठम्याउन पनि गाह्रो हुने रहेछ। यसमा आठ कक्षा पढेकी उनै सहयोगीले सघाउँछिन् उनलाई।

छोडिसकेको श्रीमानको थर बोक्न राजी महिलाका लागि त केही भएन। तर जसले सम्बन्ध टुटिसकेको श्रीमानसँगको थरको सम्बन्ध नि छाड्न चाहन्छन्, उनीहरूका लागि कानून बाधक बनिदिन्छ।

नेपालको नागरिकता ऐन अनुसार एकै व्यक्तिले दुई वटा नागरिकता बनाउनु गैरकानूनी हो। यदि कसैको दोहोरो नागरिकता छ भने एउटा रद्द गराउनुपर्ने कानूनी प्रावधान छ।

अधिवक्ता संगीता बर्मा महिलाले पनि बहुविवाह गर्छन् भन्ने नै नसोची कानून बनाउँदा समस्या देखिएको बताउँछिन्। श्रीमानको नामबाट नागरिकता जारी हुने भएकाले श्रीमानको मृत्यु भएमा वा सम्बन्धमा दरार आएर अर्को विवाह भएमा नागरिकताको विषय जटिल हुने गरेको उनले बताइन्।

नेपालमा महिलाले पनि बहुविवाह गर्छन् भन्ने धारणा नभएकैले यो विषयमा स्पष्ट कानून नबनेको उनको भनाइ छ। अशिक्षाका कारण बनेको दोहोरो नागरिकताबारे थाहा नपाएका महिलाले के कस्ता कारबाही भोग्ने हो, यो विषयमा खासै छलफल समेत नभएको उनको अनुभव छ।

०००

माथिका दुई मुद्दाभन्दा फरक तर गम्भीर मुद्दा बोकेर अधिवक्ता संगीता बर्माकोमा आएकी थिइन् सुनिता थापा मगर।

सुनिताका बाबुआमा सानैमा बिते। श्रीमानको थरकै कारण उनी थापा मगर बनिन्। एक दशकअघि वैदेशिक रोजगारीमा गएका श्रीमान् उतै घरबार गरेर बसे।

सम्बन्ध विच्छेदको कागज आयो। श्रीमानको सजिलोका लागि उनले सम्बन्ध विच्छेद गरिन्। तर, नागरिकतामा बोकेर हिँडेको थरसँग सम्बन्ध बिच्छेद गर्ने अर्को उपाय फेला परेको छैन।

सुनिताकी पाँच वर्षकी छोरी छन्। उनी दोस्रो विवाह गर्ने पक्षमा छैनन्। तर, छोडपत्र गरिसकेको श्रीमानको थरको परिचय पनि बोक्न पनि चाहन्नन्। तर, कानूनी रूपमा सम्भव भइरहेको छैन।

बाबुआमा बितिसकेका र सम्बन्ध विच्छेद भएका महिलाको हकमा यदि माइतीको थरबाट वडाको सिफारिस ल्याउन सके श्रीमानको थर परिवर्तन गर्न सकिने अधिवक्ता बर्मा बताउँछिन्।

अधिवक्ता बर्मा यस्ता समस्याहरू टन्नै आउने गरेको बताउँछिन्। श्रीमानको नामबाट नागरिकता बनाएका र पछि सम्बन्ध विच्छेद भएका प्रायः महिलाले सुनिताको जस्तो समस्या भोगिरहेका छन्।

‘कोही थर परिवर्तनका लागि सिफारिस खोज्न लागेका हुन्छन् त कोही छोराछोरीको नागरिकता बनाउन सजिलो हुने भन्दै त्यही थरलाई निरन्तरता दिन्छन्,’ उनले भनिन्, ‘छोडिसकेको श्रीमानको थर बोक्न राजी महिलाका लागि त केही भएन। तर जसले सम्बन्ध टुटिसकेको श्रीमानसँगको थरको सम्बन्ध नि छाड्न चाहन्छन्, उनीहरूका लागि कानून बाधक बनिदिन्छ।’

सम्बन्ध विच्छेदपछि प्रायः महिलाले माइतीको थरबाट नागरिकता लिएको बर्माको भनाइ छ। सम्बन्ध बिच्छेदको कागज देखाएर जिल्ला प्रशासन कार्यालयमा नयाँ थरबाट नागरिकता लिन सकिन्छ। तर, बुबाआमा नभएका र श्रीमानसँग छुट्टिएकाहरूको हकमा भने कानूनमा प्रष्ट व्यवस्था छैन।

त्यसैले दोस्रो विवाह गर्न रहर नभएका महिलाहरू बाध्य भएर छोडपत्र भएकै श्रीमानको थर बोक्न बाध्य छन्।

बाबुआमा बितिसकेका र सम्बन्ध विच्छेद भएका महिलाको हकमा यदि माइतीको थरबाट वडाको सिफारिस ल्याउन सके श्रीमानको थर परिवर्तन गर्न सकिने अधिवक्ता बर्मा बताउँछिन्।

‘वडाका साक्षीहरू देखाउन सके सुनिताले माइतीको थरबाट नागरिकता लिनसक्ने प्रावधान बनेको छ। त्यसका लागि सम्बन्ध विच्छेदको कागज, माइतीको थर उल्लेख भएको वडाको सिफारिस, बाबुआमा जो कसैको नागरिकताको फोटोकपी लिएर उनले माइतीको थर राख्न सक्छिन्। तर विवाह भइसकेको छोरीलाई माइतीबाट नागरिकता पुन: लिन सहज कहाँ हुन्छ र!’, उनले भनिन्।

१ चैत, २०७९, १२:४५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।