कालो घुम्टो भित्रको पीडाविरुद्ध आवाज उठाएका खैरुन र खतिजा !

कालो घुम्टो भित्रको पीडाविरुद्ध आवाज उठाएका खैरुन र खतिजा !

सुर्खेत : वीरेन्द्रनगर–१० बेलघारीकी खैरुन निशा महिला स्वास्थ्य स्वयंसेविका हुन्। स्वास्थ्य स्वयंसेविकासँगै आफ्नो समुदायको विकृति, विसङ्गतिविरुद्ध लड्दै अभियन्ताको रूपमा समेत परिचित छिन् उनी।

मुस्लिम महिलाहरूको कालो घुम्टो भित्रको पीडा र श्रीमान्ले तीन पटक तलाख भनेपछि हुने सम्बन्ध विच्छेदका विरुद्ध निशा विगत तीन दशकदेखि निरन्तर आवाज उठाउँदै आएकी छन्।

महिलाहरू घुम्टो ओढेर घरभित्रै बस्नुपर्ने, परिवार नियोजन गर्नु पाप ठान्ने, श्रीमान्लाई चित्त नबुझे तीन तलाख दिने जस्ता प्रचलनविरुद्धमा निशाले आवान उठाउन थालेदेखि नै यहाँका मुस्लिम समुदायका महिलाहरू अझ बढि जागरुक भएका छन्।

२०५२ सालदेखि स्वास्थ्य स्वयंसेविकाको रूपमा कार्यरत खैरुन मुस्लिम समुदायका महिलाको सहारा बनिन्। स्वास्थ्य क्षेत्रमा अनुभव बटुल्दै गइन्। सँग–सँगै सामाजिक क्षेत्रमा काम गर्न थालिन्। मुस्लिम समुदायमा रहेका कुसंस्कारको अन्त्यका लागि सुर्खेतबाट एकल नेतृत्वकर्ता भएर काम गरिन्।

बुवा मदार बक्स र आमा जोहोरा बीबीको कोखबाट कान्छो सन्तानको रूपमा २०२८ असोज २३ गते जन्मिएकी निशाको बाल्यकाल निकै दुःखद् बित्यो। बालखैमा बुवाले दोस्रो विवाह गरेपछि आमा, दाइ र उनको जीवन सहज भएन। बाल्यकाल नै संघर्षपूर्ण रह्यो निशाको।

यतिमात्र हैन, खैरुन १३ वर्षकी हुँदा आमाको मृगौला फेल भएर मृत्यु भयो। उपचार गर्ने रकम अभावकै कारण आमा गुमाइन् अनि जीवन गुजारका लागि गाईगोरु गोठाला गर्न थालिन्। गाईगोठाला गर्दै कक्षा पाँचसम्म पढ्न पाइन्।

निशाले २०४१ सालमा मोहम्मद इसाकदीनसँग विवाह गरिन्। आमा गुमाएपछि एक्लो बनेकी उनको त्यो विवाह रहर नभइ बाध्यता थियो। तर, विवाहपछि नै उनको जीवनको परिवर्तन आयो।

‘यसै त नेपाली समाजमा महिलालाई धेरै गाह्रो छ, त्यसैमा मुस्लिम समुदायमा त महिलालाई खुट्टाको धूलो सरह पनि नठान्ने समाज हो,’ उनी भन्छिन्, ‘मेरो जीवनमा त्यस्तो भोग्नु परेन। विवाहपछि मैले घरायसी कामकाजमा आफूलाई व्यस्त राख्थे। तर, मुस्लिम सुमदायका महिलाको पीडाबारे आवाज पनि उठाएँ।’

कानूनी विषयको ज्ञान नभए पनि परिवार र श्रीमान्को साथ पाएपछि निशाले मुस्लिम समुदायका कुरितीविरुद्ध आवाज उठाउन थालिन्। लगातार पाँच छोरी जन्माएकी निशालाई समाजले छोरा चाहिन्छ नभनेका कहाँ हुन् र? तर श्रीमान् र परिवारको भने दवाव नआएका उनले सुनाइन्।

मुस्लिम समुदायका महिलाबारे आवाज उठाउँदा उनलाई मस्जिदमा लगेर घुँडा टेकाएर माफीसमेत माग्न लगाइएको रहेछ। यद्यपि उनी डराइनन्, कुरितीविरुद्ध बोलिरहिन्।

निशा कुप्रथाविरुद्ध मात्रै बोल्ने मात्र र काम गर्ने मात्र होइन, समुदायमा सचेतना, साक्षरता फैलाउने, अपाङ्ग, गरीब, विपन्न परिवारलाई सहयोग गर्ने, घरेलु हिंसा, बहुविवाह र बालविवाह गर्नेलाई कानून अनुसार कारबाही गर्नमासमेत सहयोग गर्दै आएकी छन्।

उनले गरेको सत्कर्मका कारण विभिन्न संघसंस्थाले उनलाई सम्मान गरेका छन्। गण्डकी प्रदेशमा भएको चौथो राष्ट्रिय बेटी सम्मेलनमा उनले चेलीबेटी सशक्तिकरण सम्मान २०७८ पाइन्। नगरपालिका तथा अन्य मुस्लिम संघसंस्थाले समेन उनलाई सम्मान गरेका छन्।

आजकल मुस्लिम समुदायका लागि कुनै नयाँ कार्यक्रम र योजना निर्माण गर्नुपरे निशाकै नाम पहिले आउँछ। यसमा उनी खुसी पनि छन्।

‘म यो सेवाबाट धेरै नै सन्तुष्ट छु। मेरो परिवारबाट ठूलो सहयोग पाएकी छु,’ उनी भन्छिन्, ‘मेरो श्रीमान्ले धेरै नै सहयोग गर्नुभयो जसकारण म आज एक अभियन्ताको रूपमा परिचित छु। आज मलाई धेरैले चिन्नुहुन्छ।’

समाजसेवा निरन्तर गरिरहने र मुस्लिम महिलाहरूको अधिकारका लागि निरन्तर लागिपर्ने निशाको योजना छ।

मदरसामा मातृभाषा पढाउने खतिजा 
वीरेन्द्रनगर–१० कै खतिजा बिबिमदरसा, मदिना विद्यालयमा मातृभाषा पढाउने शिक्षक हुन्। उनले पनि घरबाट बाहिर निस्कन निकै संघर्ष गर्नुपर्यो।


उनी पढ्ने बेलामा मुस्लिम समुदायका छोरी, बुहारी घरबाट बाहिर निस्कन नपाउने, निस्किए पनि बुर्खाले नचिनिने गरी बेरिएर जानुपर्ने अवस्था थियो। त्यो बेला मुस्लिम समुदायका बालिकाहरू समेत विद्यालयमा जान पाउँदैनथे। तर, खतिजाले बुर्खाविरुद्ध संघर्ष गरेर आफ्नो पढाइलाई निरन्तरता दिइन्।

बुवाले खतिजलाई विद्यालय पठाउँदा समाजले नै उनको परिवारलाई सकरात्मक रूपमा हेरेन। छोरीलाई पढाएर के मिल्छ भन्ने प्रश्नहरूले खतिजाको मनमा निकै चोट पुग्थ्यो। अहिले उनी समुदायका किशोरीहरूलाई विद्यालयमा जान प्रोत्साहन गर्छिन्।

एसएलसी पास गरेपछि पढ्दै पढाउँदै गरेकी उनी २०६६ सालदेखि मदरसा विद्यालयमा त्यही मुस्लिम समुदायको मातृभाषा पढाएर समुदायका बालबालिकालाई शिक्षाको ज्योति बालिरहेकी छन्। पहिला समाजमा छोरीलाई पढाउनुहुन्न भन्नेहरू नै अहिले उनलाई सम्मान गर्छन्। ३२ वर्षीय खतिजाको एक छोरा र एक छोरी छन्।

‘यही समुदाय हो जसले पहिला छोरीलाई पढाउनुहुन्न, बाहिर निस्कुदिनुहुन्न, आज पढेर यही समुदायको विद्यालयमा मातृभाषालाई सिकाउँदै आउँदा मलाई खुसी लागेको छ,’ उनी भन्छिन्, ‘साँच्चिकै हाम्रो समुदायमा महिलालाई अप्ठारो थियो। तर, बुर्काविरुद्धमा उभिएर मैले अध्ययन गरेँ। अहिले समाजमा अन्य महिला र किशोरीहरू स्वतन्त्र रूपमा बस्न पाएका छन्।’

अझै पनि अन्य समुदायको भन्दा मुस्लिम समुदायमा छोरीहरू कमै मात्रामा विद्यालय आउने गरेको उनी बताउँछिन्। उनीहरूलाई विद्यालय तहमा ल्याएर ज्ञान सँगै सीप विकासमा ल्याउनेगरी अभियान सञ्चालन गर्ने उनको योजना छ।

चैत १, २०७९ बुधबार १२:२२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।