नेपालको एकदिवसीय वरीयतामा सुधार, युएई र नामिबियालाई पछि पार्यो
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार गरेको छ।
आईसिसी क्रिकेट विश्वकप लिग–२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा १६औं स्थानमा आइपुगेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार अपडेट गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १६औं स्थानमा उक्लिएको हो।
योसँगै नेपालले ओडिआई वरीयतामा नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ।
घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगको लिग–२ खेल्नुअघि १९औं स्थानमा रहेको नेपालले त्यसपछिका ११ खेलमा १० जित निकाल्दै आफूलाई तीन स्थान सुधार गरेको हो।
नेपालभन्दा पछि रहेको नामिबिया १७औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन्।
नयाँ ओडिआई वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो स्थानमा छ। एसोसिएट राष्ट्रतर्फ स्कटल्याण्ड सबैभन्दा माथि १२औं स्थानमा छ।
विश्वकप सुपर लिग खेलिरहेको नेदरल्याण्ड्स १४औं स्थानमा छ। लिग दुईको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा माथि १५ औं स्थानमा छ।
चैत १, २०७९ बुधबार ०८:३१:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।