छ महिनाभित्र दुबई पठाउने भन्दै १९ लाख उठाएपछि...
बुटवल : बुटवलको कालिकानगरमा रहेको ‘द जंग स्ट्रोङ नेल आर्ट प्रालि’ले वैदेशिक रोजगारीका लागि युएईको दुबई पठाइदिने भन्दै १९ लाख रुपैयाँ उठाएको पाइएको छ।
दुबईमा जब ग्यारेन्टी भन्दै विज्ञापन गरेर प्रतिव्यक्ति चार लाख रुपैयाँसम्म उठाएको एक वर्ष हुँदा पनि आफूहरूलाई विदेश नलगेको भन्दै सात जना पीडित इलाका प्रहरी कार्यालय, बुटवल पुगेका छन्।
कम्पनीले छ महिनाभित्र विदेश उडाउने भने पनि नउडाएर ठगी गरेको उनीहरूको आरोप छ।
तीन महिनासम्म नेल आर्ट(नङसम्बन्धी कला) सिक्ने, त्यसपछि २ महिना ओजेटी (काममा कसरी प्रस्तुत हुने भन्ने ज्ञान लिने)गर्ने र एक महिनामा प्रक्रिया पुर्याएर दुवई पठाउने भन्दै कम्पनीले उनीहरूलाई नेल टेक्निसियनको तालिममा भर्ना गरेको थियो।
पीडितमध्येकी एक मौसमी कार्कीले भनिन्, ‘नेल टेक्निसियनमा भर्ना लिएको छ महिनाभित्र जब ग्यारेन्टीका साथ दुबई पठाउने भन्यो, हामी पनि भर्ना भयौं। तर एक वर्षसम्म पनि विदेश पठाउन सकेन।’
दुवई जाने भन्दै कार्कीसहित अन्य ७ जनाले २ लाख ३५ हजारदेखि ४ लाख २० हजार रूपैयाँ कम्पनीलाई बुझाएका थिए। उक्त रकममध्ये दुई लाख तालिम खर्च र बाँकी दुई लाख विदेश जाँदा लाग्ने खर्च भन्दै कम्पनीले लिएको कार्कीले बताइन्।
अर्की पीडित जुनु परियारले विदेश पठाउने भन्दै १ वर्षसम्म नलगेपछि आफूहरूले चार लाखमध्ये दुई लाख फिर्ता माग्दा पनि नदिएको बताइन्।
‘चार लाख रूपैयाँ माग्दा हामीलाई मासिक १ लाख तलब हुन्छ भनेका थिए,’ उनले भनिन्, ‘तर अहिले विदेश पठाएनन्। आधार रकम फिर्ता देऊ भन्दा पनि दिएका छैनन्।’
ईलाका प्रहरी कार्यालय, बुटवलले भने यो घटना वैदेशिक रोजगार विभागसँग सम्बन्धित रहेको भन्दै मध्यस्तता मात्र गर्नसक्ने जनाएको छ। कार्यालय प्रमुख दानबहादुर थापाले पहिलो चरणमा दुवै पक्षलाई राखेर समाधानको बाटो खोज्न आग्रह गरे पनि अहिलेसम्म विषय नटुंगिएको जानकारी दिए।
पीडितहरू दुर्गा रायमाझीले ४ लाख २० हजार, जुनु परियारले २ लाख ७५ हजार, दिपिका सापकोटा, सोनम सुनार र तुल्सी खत्रीले जनही ३ लाख ५० हजार, मौसमी कार्कीले ३ लाख २० हजार र सिखा गुरुङले २ लाख ३५ हजार गरी कुल १९ लाख ५० हजार नेल आर्टलाई बुझाएको उनीहरूको भनाइ छ।
कम्पनीका बुटवल प्रमुख विजेन्द्र मल्ल (किरण)ले कतिपयको प्रक्रिया पूरा हुन नसकेको स्वीकार गर्दै पैसाको फिर्ताको विषयमा काठमाडौंमा रहेको केन्द्रीय कार्यालयमा छलफल भइरहेको बताए।
आफूहरूले निर्णय लिन नसक्ने भएकाले कार्यकारी निर्देशक सुनिलजंग मल्ल आइतबार आएपछि निचोडमा पुगिने उनले बताए।
फागुन ३०, २०७९ मंगलबार २०:५४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।