मतदानबाट बञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा रिट दर्ता, बुधबार पहिलो पेशी

मतदानबाट बञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा रिट दर्ता, बुधबार पहिलो पेशी

सुर्खेत : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने अधिकारबाट बञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालयको ‘स्कुल अफ म्यानेजमेन्ट’का विद्यार्थीले अदालतमा रिट दायर गरेका छन्।

मंगलबार विद्यार्थीहरू भुवन बुढा, सुदिप महतारा र खेमु शाहीले मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृतको कार्यालय लगायत पाँच वटा कार्यालयलाई विपक्षी बनाएर उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन्।

स्कुल अफ म्यानेजमेन्टमा करिब ४०० विद्यार्थी अध्ययनरत छन्। उनीहरूले अन्तरिम आदेश सहितको उत्प्रेषणयुक्त परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाऊँ भन्दै रिट निवेदन दायर गरेका हुन्।

रिटको पेशी बुधबारलाई तोकिएको उच्च अदालत सुर्खेतका सूचना अधिकारी सरोजनिधि वाग्लेले जानकारी दिए।

यता विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले स्कुल अफ म्यानेजमेन्टलाई स्वतन्त्र बनाउन निर्देशिकाअनुसार उक्त निर्णय भएको दाबी गरे।

‘कसलाई मतदान गर्न दिने नदिने भन्ने विषयको कुरा नै छैन। ‘स्कुल अफ म्याजेनमेन्ट’ एउटा संस्थाभित्रको पनि संस्था हो। उसको निर्देशिकामा नै मतदान गर्न नपाउने कुरा स्पष्ट छ,’ उपकुलपति सिंहले भने, ‘सोही अनुसार जानकारी मात्रै गराएको, बाँकी उजुरीको कुरामा कानूनअनुसार अगाडि बढौँला।’

चैत्र ३ गते स्ववियु निर्वाचनमा मध्यपश्चिम विश्वविद्यालयमा चार हजार २९ जना मतदाता छन्।

फागुन ३०, २०७९ मंगलबार २०:१८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।