समीकरण फेरिए पनि सरकारको नेतृत्व र नीति फेरिँदैन : प्रधानमन्त्री दाहाल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक समीकरणमा फेरबदल आए पनि सरकारको नीतिमा परिवर्तन नभएको बताए।
‘यस बीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ। तर, सरकारको नेतृत्व र नीति फेरिँदैन। हिजो हामीले जुन प्राथमिकता निर्धारण गरेका छौँ, सामाजिक न्याय, सुशासन र समृद्धि। त्यसमा हामी दृढ भएर अगाडि जान्छौं’, प्रधानमन्त्री दाहालले भने, ‘मन्त्रीहरू फेरिनुहुन्छ। तर, सरकारको नीतिगत प्राथमिकता फेरिँदैन। त्यसैले आफ्नो काममा दत्तचित्त भएर लाग्नुस्, परिणाम दिनुस्।’
सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम नफेरिने उल्लेख गर्दै उनले कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए।
‘प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग बन्छ’
प्रधानमन्त्री दाहालले प्रशासनिक क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिनेसमेत बताए।
‘प्रशासनिक क्षेत्रमा विद्यमान समस्या समाधान गर्न सरकारले गम्भीर पहल गर्ने तयारी गरिरहेको छ। यसको समाधानमा हामीले विलम्ब गर्नुहुँदैन । कर्मचारी प्रशासन र जनअपेक्षाबीच ठूलो खाडल छ’, उनले भने, ‘बदलिँदो परिस्थिति, लोकतान्त्रिक प्रणाली र जनअपेक्षा सम्बोधन गर्ने गरी आयोग गठनको तयारी गरिएको छ। केही समयभित्रै आयोग बन्छ। त्यसको नेतृत्व प्रधानमन्त्रीले नै गर्नेगरी व्यवस्था गर्न खोजिएको छ। आयोगमा विज्ञहरू रहने व्यवस्था गरिनेछ।’
उनले कर्मचारी प्रशासनमा ओभरस्टाफिङ कटौती गरिने बताए।
‘ओभरस्टाफिङको समस्या छ। डुल्पिकेशनको समस्या छ। अनावश्यक संरचनाहरू छन्। तिनीहरू कटौती गरेर प्रशासनयन्त्र चुस्त बनाउनुपर्छ। त्यसका लागि आयोग गठन आवश्यक छ’, प्रधानमन्त्री दाहालले भने।
फागुन ३०, २०७९ मंगलबार १७:२४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।