शम्भु थापा छुटेपछि प्रसाईंले भने–‘कालोमोसो दस्ताका संयोजक पक्रेर राज्यले संविधानप्रदत्त अधिकार हनन् गर्‍यो’

शम्भु थापा छुटेपछि प्रसाईंले भने–‘कालोमोसो दस्ताका संयोजक पक्रेर राज्यले संविधानप्रदत्त अधिकार हनन् गर्‍यो’

काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो अभियानको युवा दस्ता कालोमोसो दस्ताका संयोजकलाई पक्रेर सरकारले संविधानप्रदत्त अधिकारमाथि हनन् गरेको बताएका छन्।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक प्रसाईंले सरकारले आफ्नो अभियानको युवा दस्ता कालोमसो दस्ताका संयोजक शम्भु थापालाई पक्रेर सरकारले अराजकता देखाएको बताए। यद्यपि संयोजक थापा भने छुटिसकेका छन्।

उनले अन्य राजनीतिक दलका युवा संगठनहरू भएजस्तै आफूहरूको युवा संगठनको रूपमा कालोमोसो दस्ता बनाएको भए पनि दस्ताले हालसम्म कसैलाई मोसो नदलेको उनको दाबी छ। यद्यपि सरकारले पक्राउ गरेर व्यक्तिको संविधानप्रदत्त अधिकारमाथि हनन् गरेको उनी बताउँछन्।

प्रसाईंले बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजका विरुद्ध आफूहरूले आवाज उठाइरहेको र आन्दोलन गरिरहेको स्पष्ट पार्दै बैंक र लघुवित्तका कारण लाखौँ नेपाली सुकुम्वासी हुने अवस्था आएकोसमेत बताए। उनले बैंक र लघुवित्तका विरुद्धमा गाउँ–गाउँबाट आन्दोलनमा उत्रिन आह्वान गरे।

‘एमालेको युवा संघ, माओवादी केन्द्रको वाईसीएल र कांग्रेसको तरुण दल जस्तै हाम्रो अभियानको कालोमसो दस्ता बनाएको थियो,’ उनले भने, ‘त्यो बनाएकै भरमा केही नगरीकन उहाँलाई पक्रेर लगेर थुनियो। कति अराजक रहेछ मुलुक। संविधान प्रदत्त अधिकारमाथि हनन् गर्यो राज्यले।’

प्रसाईंले बैंक तथा लघुवित्तविरुद्धको आफूहरूको आन्दोलन जारी रहेको बताए। उनले निरन्तर रूपमा देशभर विभिन्न आन्दोलनको कार्यक्रमहरू गरिने जानकारी दिए।

फागुन ३०, २०७९ मंगलबार १७:०४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।