पलायन भएका खेलाडीहरूसँग सम्पर्कको प्रयास गर्छु : मुख्य प्रशिक्षक भिन्सेन्जो
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले विदेश पलायन भएका खेलाडीहरूसँग सम्पर्कको प्रयास गर्ने बताएका छन्।
मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले राष्ट्रिय टोलीका केही खेलाडीहरू विदेश गएको अवस्थामा उनीहरूसँग सम्पर्कको प्रयास गर्ने बताए।
राष्ट्रिय टोलीका अधिकांश खेलाडी पलायन भएको अवस्थामा टोली सम्हाल्न नेपाल आएका भिन्सेन्जोले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग र विगतका प्रतियोगितामा खेलेका खेलाडीलाई समेट्दै टोली बनाउने बताए।
उनले आफू नेपालको प्रशिक्षक बन्नका लागि अवसर खोजिरहेको र तीन वर्षदेखि नेपाली फुटबल पछ्याइरहेको समेत बताए। भारतीय आई लिगमा नेपाली खेलाडीको प्रतिभा देखेर आफू प्रभावित भएकोसमेत उनले बताए।
नेपाल आउनुको लक्ष्य धेरै भन्दा धेरै खेलमा नेपाललाई सुखद् नतिजा दिलाउने र नेपालले विगतमा हासिल गर्न नसकेको सफलता दिलाउँदै करियर सुधार गर्ने रहेको उनले बताए।
नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा नेपालले पहिलो घरेलु मैदानमा नेपाल, लाओस र भुटान सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ।
फागुन ३०, २०७९ मंगलबार १६:५२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।