एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गरौं : महामन्त्री शर्मा

एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गरौं : महामन्त्री शर्मा

काठमाडौं :  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।

राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री, ३ पटकसम्म मन्त्री र ४ पटकसम्म सांसद् हुने व्यवस्था गर्र्नु उपयुक्त हुने उनले बताए।

नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्याएर सपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौं राष्ट्रपति पाइसकेको हुने स्मरणसमेत गराए।

‘एक पटक एउटा मान्छे राष्ट्रपति बन्ने, दोहोर्याएर सपथ ग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले सपथग्रहण गर्दैगर्दा पाँचौं राष्ट्रपति नेपाल देशले पाइसकेको हुन्थ्यो,’ उनले भने, ‘डा. रामवरणले २ पटक, विद्या भण्डारीले २ पटक सपथ ग्रहण गर्नुभयो र अहिले आएर रामचन्द्र पौडेल हुनुभयो।’

उनले सांसद, मन्त्री भइसकेकाहरुले मुलुकको आर्थिक रुपान्तरणको काममा योगदान दिनसक्ने व्यवस्था नीतिगत रूपमै भए त्यो झनै राम्रो हुने धारणा समेत राखे।

‘राजनीतिमा रुपान्तरण भन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटी राष्ट्रपति बनोस्, दुई पटक प्रधानमन्त्रीको सपथग्रहण गरोस्, ३ पटक मन्त्री हुँदैगर्दा आफ्नो सम्पूर्ण योग्यता देखाओस्,’ उनले थपे, ‘४ पटकसम्म सांसद बनोस्। पाँचौं पटक उसले आर्थिक रुपान्तरणको काममा हात हालोस्।’

महामन्त्री शर्माले भ्यूटावर बनाउने कुरा, एकैपटक धेरै अन्तराष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले मुलुकलाई प्रतिफल दिन सक्ने आयोजनाहरूको छनोट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको बताए।

फागुन ३०, २०७९ मंगलबार १६:२४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।