चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपतिको चार वर्षे कार्यकाल : न अस्पताल सुधार, न कुनै देखिने काम

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपतिको चार वर्षे कार्यकाल : न अस्पताल सुधार, न कुनै देखिने काम

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. देव नारायण (डीएन) साहको पदावधि आज (मंगलबार) देखि सकिएको छ। 

डा. साह आफ्नो कार्यकालमा ठूलो विवादमा परेको नदेखिए पनि उनको कार्यकालमा सम्झनलायक ठूला उपलब्धि भने केही भएन। न त वीर अस्पतालमा आहा भन्न लायकको सुधार नै भयो।

भक्तपुरको दुवाकोटस्थित वीर अस्पतालको विस्तारित परियोजनालाई अगाडि बनाउन नसक्नु उनको कार्यकालको एक प्रमुख असफलता देखिन्छ। 

त्यसैगरी प्रतिष्ठान सेवा आयोग र प्रतिष्ठानको नियमावली संशोधन गर्न नसक्नु उनका लागि अर्को चुनौती बन्यो। जसले गर्दा प्रतिष्ठानका चिकित्सक, शिक्षक र कर्मचारीको वृद्धि विकासमा समेत समस्या देखिएको छ। 

उनी उपकुलपति बन्नु पहिले नै खरिद गरिए पनि चलाउँदै नचलाइ चौरमै एउटा टोमोथेरापी मेसिन बिग्रिएको थियो। यसपछि साहको कार्यकाल सकिंदासम्म पनि अर्को टोमोथेरापी मेसिन आउन सकेन।

तर, डा. साहले भने सेवा आयोग निष्क्रिय भइसकेको र नयाँ संविधान अनुसार प्रतिष्ठानहरुको सेवा आयोग सम्बन्धी कार्यहरुको अधिकतर कार्य लोकसेवा आयोग मार्फत नै रहने भएको बताए। त्यसैले २०७२ को संविधानपछि प्रतिष्ठानमा सेवा आयोगको औचित्य नभएको उनको दाबी छ।

प्रतिष्ठानका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न नसक्नु उनको कार्यकालको चुनौतीको रुपमा रह्यो। सिनेट बैठक राख्न नसक्नु उनको अर्को चुनौती थियो। पछिल्लो दुई वर्ष यता स्वास्थ्य मन्त्री परिवर्तन र कोरोना भाइरसको कारण सिनेट बैठक राख्न नसकेको डा. साहले सुनाए।  

अस्पतालको सरसफाइमा सुधार गर्नुपर्ने र टिकट काट्ने ठाउँमा लाइन कम गर्ने जस्ता सुधार गर्नुपर्ने जस्ता विषय आफ्नो कार्यकालमा अपेक्षाकृत गर्न नसकेको उनी आफैंले स्वीकारेका छन्।

उनी उपकुलपति बन्नु पहिले नै खरिद गरिए पनि चलाउँदै नचलाइ चौरमै एउटा टोमोथेरापी मेसिन बिग्रिएको थियो। यसपछि साहको कार्यकाल सकिंदासम्म पनि अर्को टोमोथेरापी मेसिन आउन सकेन।

तीन वटा भवन सञ्चालन गरेको दाबी

डा. साह आफ्नो कार्यकालमा तीन वटा भवन सञ्चालनमा आएको बताउँछन्।

उनी उपकुलपति बनेर प्रतिष्ठानमा आउनुपूर्व नै जापान सरकारले जाइकामार्फत वीर अस्पतालको पुरानो भवनको पछाडि भवन बनाइदिएको थियो। त्यो जाइका भवन आफ्नो कार्यकालमा नै सञ्चालनमा आएको उनले बताए।

त्यसैगरी डा. साह प्रतिष्ठानको उपकुलपति बनेर अस्पताल पुग्दा सर्जिकल भवन निर्माणाधिन अवस्थामा थियो। त्यो भवनको निर्माण निर्धारित समयावधि भन्दा पहिले नै पूरा गरेर २०७८ असार २७ देखि सञ्चालनमा ल्याउन सक्नु आफ्नो कार्यकालको सफलता भएको उनको तर्क छ।

‘प्रतिष्ठानलाई अझै सक्रिय बनाउनुपर्ने हो,’ उनले भने, ‘अझ बढि संख्यामा बिरामी हेर्ने, बढी संख्यामा बिरामीको अप्रेशन गर्ने गराउने व्यवस्था गर्न सकिन्थ्यो। तर, विभिन्न कारणले गर्दा सकिएन।’

सर्जिकल भवन विशेषगरी कोरोना भाइरस संक्रमणका बिरामीको उपचार सेवा विस्तारका लागि सुरु भएको थियो। आफ्नो कार्यकालमा नै सर्जिकल भवनसँगै रहेको नर्सिङ क्याम्पसको भवन निर्माण सुरु गरेर पूरा गरि सञ्चालनमा ल्याउन सफल भएको पनि उनको दाबी रहेको छ।

तर, प्रतिष्ठानलाई अझ सक्रिय बनाउनुका साथै अझै बढि संख्यामा बिरामीको सेवा गर्नुपर्ने भए पनि त्यो काम भने हुन नसकेको उनले स्वीकारे।

‘प्रतिष्ठानलाई अझै सक्रिय बनाउनुपर्ने हो,’ उनले भने, ‘अझ बढि संख्यामा बिरामी हेर्ने, बढी संख्यामा बिरामीको अप्रेशन गर्ने गराउने व्यवस्था गर्न सकिन्थ्यो। तर, विभिन्न कारणले गर्दा सकिएन।’

शैक्षिक कार्यक्रम विस्तार?

उनले आफ्नो कार्यकालमा शैक्षिक कार्यक्रमको विस्तारमा महत्वपूर्ण काम गर्न सफल भएको बताएका छन्। उपकुलपति साहले चिकित्सा विज्ञान प्रतिष्ठानमा संख्यात्मक रुपमा नर्सिङदेखि विशेषज्ञतासम्मका शैक्षिक कार्यक्रम थपिएको सुनाए। 

‘शैक्षिक कार्यक्रममा संख्यागत वृद्धि भयो। पहिले हामीकहाँ जति वटा शैक्षिक कार्यक्रम सञ्चालित थिए त्यसमा आठ वटा शैक्षिक कार्यक्रम वृद्धि गर्न सक्यौं,’ उनले भने। 

चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीको लागि आवश्यक ‘स्किल ल्याब’ स्थापना गर्न गर्न सफल भएको उपकुलपति साह बताउँछन्। त्यसैगरी लामो समयपछि प्रतिष्ठानले दीक्षान्त समारोह गर्नु आफ्नो कार्यकालको सफलता भएको उनले सुनाए। 

वीर अस्पतालले कोभिड व्यवस्थापन गर्न नसकेकैले नै सरकारले केन्द्रीय अस्पताल बनाएको केही जानकारहरूको तर्क छ।

सेवाको हकमा वीर अस्पतालमा जेनेटिक ल्याबको स्थापना, डेन्टल सेवा विस्तार, आइसीयु बेडको संख्यामा वृद्धि लगायत सेवा विस्तार पनि आफ्नै पालामा भएको उनले बताए।

तर, अस्पतालका यी सेवाको विस्तार त वीर अस्पतालका प्रमुखले गरेको हैन र? भन्ने जिज्ञासामा उनले भने,‘वीर अस्पताल नै ‘न्याम्स’ अन्तर्गत हो। त्यसैले संयुक्त प्रयास हुन्छ। यसमा डाइरेक्टरले आफैं मात्रै श्रेय लिने वा भिसीले आफैं मात्रै श्रेय लिने त्यो हुँदैन।

अस्पतालका भवन निर्माणजस्ता कार्यमा भने मुख्य रुपमा प्रतिष्ठानको भूमिका हुने उपकुलपति डा. साहले बताए। तर, अस्पतालको दैनिक कार्य सञ्चालनको विषयमा भने अस्पताल निर्देशको मुख्य भूमिका हुने उनले उल्लेख गरे।

युनिफाइड केन्द्रीय अस्पतालको औचित्य के थियो?

ओली सरकारको मन्त्रिपरिषदले २०७८ मा ‘कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश’ ल्याएर स्वतन्त्र संस्थाको रूपमा प्रतिष्ठानमा युनिफाइड केन्द्रीय अस्पताल अस्तित्वमा ल्याएको थियो।

डा. साहले त्यही आदेशको प्रावधानलाई टेकेर वीर अस्पताललाई  कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रूपमा सञ्चालन गर्ने व्यवस्था गरिनुको औचित्य के थियो भन्ने विषय भने आफूले नबुझेको बताएका छन्।

‘त्यही अध्यादेशको प्रावधानलाई निरन्तरता दिएर भिसी, रेक्टर, रजिष्ट्रारको अधिकार कटौती भयो,’ उनले भने, ‘त्यसको औचित्य के थियो मैले बुझ्न सकेको छैन। प्रतिष्ठानकै अधिकार कटौती गरेर उपलब्धि के भयो?’ 

उनको तर्क अनुसार भइरहेकै अस्पतालमा आधारित भएर अस्पताल सुदृढ गरेर कोरोना भाइरस संक्रमित बिरामीको उपचार व्यवस्थापन गर्नुपर्थ्यो।

कोरोना भाइरस संक्रमणको समयमा नेपालमा सबैभन्दा धेरै कोरोना संक्रमित बिरामीको भर्ना गरेर उपचार गर्ने मध्ये वीर अस्पताल पनि रहेको साह बताउँछन्।

तर, वीर अस्पतालले कोभिड व्यवस्थापन गर्न नसकेकैले नै सरकारले केन्द्रीय अस्पताल बनाएको केही जानकारहरूको तर्क छ।

३० फागुन, २०७९, १६:०४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।