विवाह गरेर इंग्ल्याण्ड लैजान्छु भन्दै १५ लाख ठगेको आरोपमा एक महिला पक्राउ
काठमाडौं : अनलाइनबाट १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अन्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ।
उनले पीडितलाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाई आफूलाई इंल्याण्डको नागरिक बताएको र नेपाल आएश्चात विवाह गरी इंल्याण्ड लैजाने प्रलोभन देखाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार उनले जुत्ता, ब्याग, आइफोन, सुनका गरगहनाहरू र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाइदिने र यसका लागि कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियो समेत पठाएर पीडितलाई विश्वास दिलाएकी थिइन्।
त्यसपछि कुरियर कार्यालयबाट पार्सल पाउनको लागि एन्टी मनी लन्ड्रिङ प्रमाणपत्र, डेलिभरी चार्ज, भन्सार शुल्क, इन्स्योरेन्स शुल्क, क्लिरियन्स शुल्क जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पटक–पटक गरी १५ लाख २० हजार रुपैयाँ पठाउन लगाएको कार्यालयले जनाएको छ।
उनीविरुद्ध ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ।
फागुन २९, २०७९ सोमबार १७:४७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।