राष्ट्रपति रामचन्द्रको पहिलो दिन : दोहोर्याएर शपथ, भण्डारीलाई कारसम्मै पुगेर बिदाइ

राष्ट्रपति रामचन्द्रको पहिलो दिन : दोहोर्याएर शपथ, भण्डारीलाई कारसम्मै पुगेर बिदाइ

काठमाडौँ : राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति निवासमा भव्य समारोहकाविच कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिए।

देश र जनताप्रति बफादार रहने शपथ खाँदै गर्दा उनी अलमलिए। कार्कीले म भने लगत्तै फटाफट पौडेलले' म रामचन्द्र पौडेल' भनेर शपथ पत्र पढ्न थाले। यो सांसदको शपथको शैली थियो।

तर राष्ट्रपति अनि उपराष्ट्रपतिलाई शपथ गराउँदा शपथ खुवाउनेले अगाडि पढ्दै जाने अनि शपथ लिनेले त्यही दोहोर्याउने गरिन्छ। यसमा पौडेल अलमलिएपछि उनको सुरक्षामा तैनाथ सुरक्षाकर्मी नै आएर' उहाँले पहिला पढ्नुहुन्छ अनि तपाईँले पढ्ने' भनेर सिकाउनु पर्यो।

त्यसपछि भने शपथमा कुनै व्यवधान आएन। शपथ सकिएपछि विद्या भण्डारीले आफू बसेको कुर्सी उनका लागि छाडिदिएर निवर्तमान बनिन्। पौडेल विधिवत् राष्ट्रपति भए।

शपथ सक्किएपछि आजै भण्डारीले राष्ट्रपति निवास शीतल निवास छाडिन्। उनी शीतल निवासबाट छोरीको घरतिर लागिन्। उनको घर पुनर्निर्माण भइरहेकाले उनी केही समय आफ्नी छोरीको घरमा बस्ने छिन्।

भण्डारी निवर्तमान राष्ट्रपतिको रूपमा बिदा हुँदै गर्दा पौडेलले विनम्र स्वभाव देखाउँदै उनलाई गाडीसम्म छाड्न गए। भण्डारी गाडी चढेपछि उनी फर्किएर मञ्चमा रहेको राष्ट्रपतिको कुर्सीमा बसे।

मञ्चमा राष्ट्रपति मात्र हैन प्रथम महिला पनि थिइन् यो पटक। पहिलो राष्ट्रपति डा रामवरण यादवको श्रीमतीको निधन भइसकेको थियो।

अनि भण्डारीको श्रीमान् मदन भण्डारीको समेत निधन भइसकेकाले यस अगाडिको शपथमा राष्ट्रपतिहरू एक्लै थिए।

२९ फागुन, २०७९, १४:४८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।