फिल्म रिलिजको संघारमा प्रसाद २ का निर्माता सुवास विरुद्ध ६२ लाख ठगीको जाहेरी दर्ता

फिल्म रिलिजको संघारमा प्रसाद २ का निर्माता सुवास  विरुद्ध  ६२ लाख ठगीको जाहेरी दर्ता

काठमाडौँ : फिल्म प्रसाद २ का निर्माता सुवास थापाविरुद्ध ६२ लाख ५० हजार ठगी र बैङ्किङ कसुरमा जाहेरी परेको छ।

फिल्मको निर्माता बनाउने भन्दै पैसा लिएर ठगी गरेको भन्दै उनी विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा सोमबार जाहेरी दर्ता भएको हो।

प्रसाद २ निर्माणको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले निर्माताको रूपमा परिचय गराएका केशव पाण्डेले उनी विरुद्ध परिसरमा जाहेरी दर्ता गराएका हुन्।

सहमती अनुसार आफुले ६२ लाख ५० हजार लगानी गरेको तर थापाले आफ्नो भागको लगानी गर्न नसकेपछि फिल्म निर्माण रोकिएको थियो। रोकिएको फिल्मको काम पान्डेले अगाडि बढाउने, फिल्मको ९०% अधिकार पान्डेेको हुने कागज समेत भयो। तर थापाले अर्केै निर्माता ल्याएर फिल्म निर्माण गरे पनि पेैसा फिर्ता गरेनन्।

पैसा लिएर पछि आफूखुसी फिल्म निर्माण गरेको र पटक-पटक पैसा फिर्ता दिने भन्दै ठगी गरेकाले जाहेरी दर्ता गर्न बाध्य भएको पाण्डेले बताए।

'पहिला आफैँ फिल्म निर्माणको प्रस्ताव लिएर आए। मैले लगानी गर्ने र सबै फिल्मको अधिकार दिने भनेर पैसा दिँए' पाण्डेले भने' तर पछि आफूखुसी फिल्म बनाए। पैसा पनि फिर्ता नदिएपछि जाहेरी नै दिन बाध्य भएँ।'

पछिल्लो समय पैसा फिर्ता दिन एक साताको समय मागेको तर तोकिएको समयमा पनि पैसा फिर्ता नभएपछि सोमबार परिसरमा जाहेरी दर्ता गरेको उनले बताए।

प्रसाद २ चैत २४ गते रिलिज गर्ने तयारी भइरहेको छ। प्रसादको सिक्वेलको रूपमा बनेको फिल्म पहिलो पटक सुटिङका लागि फ्लोरमा गए पनि लगानीको विवादमा त्यसै फर्किएको थियो।

पहिला नम्रता श्रेष्ठ अनुबन्ध भएकोमा विवाद पछि उनले फिल्म छाडिन्। नम्रताले फिल्म छाडेपछि केकी अधिकारी अनुबन्ध भएकी थिइन्।

फिल्ममा विपिन कार्की, अर्पण थापाले अभिनय गरेका छन्। विपिनले समेत सो फिल्ममा अभिनय गर्न अस्वीकार गरेपछि थापाले निर्माता सङ्घ लगायतमा उजुरी गरेका थिए।

पाण्डेले सो थापाको ठगीबारे निर्माता सङ्घ र चलचित्र विकास बोर्डमा समेत उजुरी गरे पनि सुनुवाइ नभएको बताए।

फागुन २९, २०७९ सोमबार १२:५२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।