‘पोष्ट अपरेटिभ फलोअप’मा त्रुटी भएपछि बिरामीको मृत्यु, मेडिसिटिका पेटरोग विशेषज्ञलाई गर्‍यो काउन्सिलले निलम्बन

‘पोष्ट अपरेटिभ फलोअप’मा त्रुटी भएपछि बिरामीको मृत्यु, मेडिसिटिका पेटरोग विशेषज्ञलाई गर्‍यो काउन्सिलले निलम्बन

काठमाडौं : शल्यक्रिया गरेको बिरामीमा देखिएको स्वास्थ्य जटिलताको उपचार नगरेर त्रुटी गरेको देखिएपछि मेडिसिटि अस्पतालका पेटरोग विशेषज्ञ (सर्जन) डा. सुनील कुमार शर्मा ढकाललाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ। 

काउन्सिल स्रोतका अनुसार डा. शर्मालाई एक हप्ता काम गर्न नपाउने गरी कारबाही स्वरूप शुक्रबार निलम्बन गरिएको हो।

डा. शर्मा नेतृत्वको उपचारमा संलग्न चिकित्सकको टिमले समयमा नै बिरामीमा देखिएको स्वास्थ्य जटिलताको उपचार नगरेर त्रुटी गरेको देखिएकाले निलम्बन गरिएको बताइएको छ।

त्यसैगरी बिरामीको उपचारको टिममा संलग्न रजिस्ट्रार डा. राजीव मिश्रलाई पनि कारबाही स्वरूप एक हप्ता निलम्बन गरिएको काउन्सिलले बताएको छ। 

गत भदौमा करिब ८० वर्षका पुरुष बिरामी उपचारका लागि मेडिसिटि अस्पतालमा पुगेका थिए। पेटरोग विशेषज्ञ डा. शर्मा नेतृत्व चिकित्सकको टिमले ती बिरामीको पेटको शल्यक्रिया (ल्याप्रोस्कोपी कोलेसेक्टोमी) गरेको थियो।

शल्यक्रिया सफल पनि भएको थियो। तर शल्यक्रियापछि बिरामीको रक्तस्राव भएको थियो। त्यसपछि शल्यक्रिया गरेको केही दिनपछि बिरामीको मृत्यु भयो।

रक्तस्राव हुँदा समेत चिकित्सकले ढिला मात्रै थाहा पाएको देखिएकाले बिरामीको हेरचाहमा त्रुटी भएको पाइयो।

‘अप्रेशनमा फाइन। तर पोष्ट अपरेटिभ फलोअपमा मिस भयो,’ काउन्सिलका एक चिकित्सकले भने, ‘त्यो संवेदनशील गल्ती हो। ब्लिडिङ भएको उहाँ (डा. सुनीलको टिम) ले मिस गर्नु भयो।’

काउन्सिल स्रोतका अनुसार शल्यक्रियापछि बिरामीको हेरचाहमा त्रुटी देखिए पनि त्यही रक्तस्राव कै कारणले मृत्यु भएको हो वा अन्य कारणले भन्ने यकिन भएको छैन।

त्यही रक्तस्रावकै कारणले गर्दा मृत्यु भएको भन्ने पुष्टि भएको खण्डमा थप कारबाही हुन सक्थ्यो। 

‘रक्तस्रावले गर्दा मात्रै मृत्यु भएको भन्ने ठ्याक्कै निर्क्योल गर्न सक्ने अवस्था भएन,’ काउन्सिल स्रोतले भन्यो, ‘त्यही रक्तस्रावले नै गर्दा मृत्यु भएको भन्ने भएको भए अझै कारबाही हुन्थ्यो। अरू पनि धेरै रोग थिए। हाइ रिस्क केस हो।’

टिमको त्रुटी भने भएकाले कारबाही गरेको काउन्सिलले जनाएको छ। तर, मिस ठ्याक्कै को बाट भयो भन्ने कुरा निर्क्योल गर्न गाह्रो भएकाले टिम लिडरको रुपमा डा. शर्मालाई एक हप्ता निलम्बन गरिएको बताइएको छ।

चिकित्सकले त्रुटी तथा गल्ती गरेमा त्रुटी तथा गल्तीको प्रकृति अनुसार सामान्य सचेत, सचेत, अन्तिम पटकलाई सचेत, नसिहत र प्रोफेशन (आफू भन्दा जान्नेकोमा निश्चित समय बसेर सिक्नुपर्ने), त्यसपछि निलम्बन र त्यसपछि मात्रै खारेजी जस्ता कारबाही काउन्सिलले गर्न सक्छ।

त्यसैले काउन्सिलले निलम्बन गर्नु एक जना चिकित्सकका लागि निकै ठूलो कारबाही भएको काउन्सिलका एक चिकित्सकले बताए। उनका अनुसार एक पटक निलम्बनमा परेको चिकित्सकले चिकित्सकीय पेसाको जीवनका लागि निकै ठूलो क्षति ब्यहोर्नुपर्ने हुन्छ। 

विभिन्न मुलुकमा तालिम लिन जाने होस् वा कुनै ठाउँमा काम गर्दा नै किन नहोस् एक पटक निलम्बनमा परेपछि त्यो चिकित्सकलाई निकै समस्या आइपर्ने उनले बताए।

‘क्षमा लायकको त्रुटी छैन है भनेपछि निलम्बन गरिन्छ,’ ती चिकित्सकले भने, ‘एक पटक निलम्बनमा परेपछि कुनै पनि देशमा गएर तालिम लिने, काम गर्ने सबै बन्द हुन्छ। अवसरका बाटा बन्द हुन्छन्।’

फागुन २९, २०७९ सोमबार ०८:१०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।