मोबाइल वालेट : सहज भुक्तानीको भर तर साइवर ठगीको डर !
काठमाडौँ : राष्ट्र बैङ्कको भुक्तानी सेवा प्रदायक (पीएसपी) द्वारा उपलब्ध गराइने मोबाइल वालेट (ई–मनी) को प्रयोगकर्ता नेपालमा उल्लेखनीय रूपमा बढिरहेका छन्। पुस महिनासम्ममा वालेटको प्रयोगकर्ताको सङ्ख्या १ करोड ५९ लाख नाघेको छ। प्रयोगकर्ता त बढेका छन् तर त्यही अनुसार कारोबार रकम भने बढ्न सकेको छैन।
राष्ट्र बैङ्कले सार्वजनिक गरेको भुक्तानी प्रणाली सूचक(पेमेन्ट सिस्टम इण्डिकेट) का अनुसार प्रयोगकर्ता बढे सँगै पुसमा मात्र १ अर्ब ८२ करोड ६१ लाख बराबरको कारोबार भयो।
२७ ओटा भुक्तानी सेवा प्रदायक अन्तर्गतका प्रयोगकर्ताहरूले पुसमा १ करोड ७१ लाख ७६ हजार पटक गरेको लेनदेनमा त्यति रकम कारोबार भएको थियो।
पछिल्लो समय डिजिटल वालेट लगायतको विद्युतीय कारोबार बढे सँगै इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, डेबिट तथा क्रेडिट कार्ड, कनेक्ट आईपीएस र प्रिपेड कार्ड जस्ता माध्यममा पनि प्रयोगकर्ताहरू आकर्षित भइरहेका देखिन्छन्।
तर, डिजिटल भुक्तानीमा सधैँ जसो अहिले पनि सबैभन्दा बढी प्रयोग हुने माध्यम मोबाइल बैङ्किङ नै अगाडि देखिन्छ। राष्ट्र बैङ्कका अनुसार मोबाइल बैङ्किङको प्रयोगकर्ताहरू २ करोड ५३ हजार भन्दा बढी छन्। पुस महिनामा मात्र मोबाइल बैङ्किङ मार्फत १६ अर्ब ७८ करोड भन्दा बढीको कारोबार भएको थियो।
एक वर्ष अगाडी यसको प्रयोगकर्ताको सङ्ख्या १ करोड ६२ लाख १२ हजार ४६८ मात्र थियो। यसै गरी डेबिड कार्डको १ करोड २२ लाख २२ हजार ३८७, इन्टरनेट बैङ्किङ सेवाको १७ लाख ६८ हजार ९३२ र कनेक्ट आईपीएसको ९ लाख ९४ हजार ८४४ प्रयोगकर्ता छन्।
मोबाइल बैङ्किङ र वालेट पछि सबैभन्दा धेरै प्रयोगकर्ता र कारोबार हुने अर्को माध्यम डेबिट कार्ड हो।
कोभिड नभएको भए प्रयोगकर्ता यति धेरै बढ्थ्यो ?
विद्युतीय भुक्तानीमा प्रणालीमा पहुँच बढ्दै जाँदा विभिन्न भुक्तानी उपकरणहरूको पनि प्रयोग बढ्दै गएको देखिन्छ। तर अझैँ विश्वासको संकट भने छ।
राष्ट्र बैङ्कले सार्वजनिक गरेको भुक्तानी प्रणाली निरीक्षण रिपोर्ट २०२१-२२ का अनुसार कोभिड १९ महामारीपछि, कनेक्टआइपिएस लगायत, इ–वालेट, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, क्युआर कोड र कार्डहरूको प्रयोग बढ्यो। सँगै ई–कमर्स र पीओएस लेनदेन पनि बढ्यो।
यसरी छिटो भुक्तानी हुने प्रणालीको प्रयोग बढेसँगै ’क्युआर’ कोडमा आधारित भुक्तानी सबैभन्दा बढी प्रयोग भयो। आर्थिक वर्ष २०२०-२१ देखि २०२१-२२ सम्म आउँदा यसको प्रयोग ३ सय ८२ दशमलव आठ प्रतिशतले बढेको राष्ट्र बैङ्ककै तथ्याङ्कले देखाउँछ भने कारोबार पनि ३ सय ६६ प्रतिशतले बढेको छ।
जबकि कार्डमा आधारित भुक्तानी (डेबिट र क्रेडिट कार्ड) घट्दो क्रममा छ। कोभिड पछि प्रिपेड कार्डको प्रयोग धेरै कम भइसकेको देखिन्छ।
मोबाइल बैङ्किङ र मोबाइल वालेटमा के छ फरक ?
लगभग एउटै काम गरे जस्तै देखिए पनि मोबाइल बैङ्किङ भन्दा वालेटको प्रयोगकर्ताहरू कम देखिन्छन्। यसको कारण देखिन्छ ग्राहकमा वालेटको भन्दा बैङ्कमार्फत हुने कारोबारप्रतिको विश्वास।
यी दुवै डिजिटल भुक्तानीको माध्यमबिचको फरक बैङ्कसँग सम्बन्धित हुनु र नहुनु मात्र हो। बाँकी विशेषता लगभग उस्तै नै हुन्। नेपालमा सन् २००२ बाट इन्टरनेट बैङ्किङ र सन् २००४ बाट मोबाइल बैङ्किङ सेवा सुरु भएको मानिन्छ।
यी सुविधाहरू सुरुमा वाणिज्य बैङ्कहरूले नेपालमा भित्र्याए। हाल बैङ्क तथा वित्तीय संस्थाका अतिरिक्त गैर बैङ्क वित्तीय संस्थाहरूले पनि डिजिटल वालेटको सुविधा दिइरहेका छन्।
राष्ट्र बैङ्कले बैङ्क बाहेकका भुक्तानी संस्थालाई पनि भुक्तानी सेवा सञ्चालनको अनुमति दिने नीति लिएसँगै निजी कम्पनीहरूले पनि डिजिटल वालेट सञ्चालन गरिरहेका छन्। हालसम्म नेपालमा जम्मा २७ वटा निजी कम्पनीले वालेट सञ्चालनको अनुमति पाएका छन् ।
वालेट सञ्चालनको अनुमति २०७४ साल देखि मात्र दिइएको हो। त्यही वर्ष आइएमई डिजिटल सोलुसन लिमिटेडको’आइएमई पे’ लगायतले अनुमति पाएका थिए। अहिले ई सेवा, खल्ती, प्रभु पे, सेलपेदेखि भर्खरै आएको हाम्रो पे लगायतका टन्नै डिजिटल वालेटहरू प्रयोगमा छन्। यीमध्ये केही स्वतन्त्र छन् भने केही वित्तीय संस्थाहरूले समेत अलग रूपमा प्रयोगमा ल्याएको देखिन्छ।
आइएमइ पेका मार्केटिङ प्रमुख सञ्जीव न्यौपाने आफ्नो कम्पनीको डिजिटल वालेटको प्रयोगकर्ता ४० लाख नाघिसकेको बताउँछन्।
भर बढे प्रयोगकर्ता पनि बढ्छन्
राष्ट्र बैङ्कको डिजिटल भुक्तानी सम्बन्धी नियमले वालेट कम्पनीहरूले कुनै पनि बैङ्क सँग सहकार्य गर्ने पर्छ भन्ने छैन। त्यही भएर पनि जनमानसमा नयाँ प्रविधि भएकाले बैङ्क जत्तिको सहजै विश्वास बढिसकेको देखिँदैन प्रयोगकर्तामाझ।
न्यौपाने भर्खरै आएको र प्रयोगकर्ताले पनि भर्खरै बुझ्न थालेको डिजिटल वालेटभन्दा लामो समयदेखि ग्राहकसँग भिजेको बैङ्क र मोबाइल बैङ्किङप्रति प्रयोगकर्ताको विश्वास बढी हुनु स्वाभाविक रहेको बताउँछन्।
उनले त्यही विश्वास देखेर अब आफ्नो डिजिटल वालेट कम्पनी पनि बैङ्ककै फर्म्याटमा जाने तयारीमा रहेको उनले बताए। 'आइएमई पे ले पनि बैङ्कले जस्तै बचतमा व्याज दिन थालेको छ' उनले भने।
खाता खोल्न सहज र बचतमा ब्याज आउने भएपछि ग्राहकहरू परम्परागत बैङ्किङबाट डिजिटल वालेटतर्फ थप आकर्षित र विश्वस्त हुने उनले दाबी गरे।
एप डाउनलोड गरेकै भरमा सजिलै खाता खोल्न सकिने, सहजै पैसा ट्रान्सफर हुने, खुद्रामा समेत कारोबार हुने, बिजुली, इन्टरनेट, केबुल, टेलिफोनको बिल तिर्ने, मोबाइलमा रिचार्ज गर्न, विभिन्न शिक्षण संस्थाको शुल्क तिर्न काम र अन्य सरकारी कामको लागि पनि वालेटबाट कारोबार बढिरहेको राष्ट्र बैङ्कको विभिन्न प्रतिवेदनले समेत देखाएका छन्।
ब्यालेन्स सुरक्षाको चिन्ता
साइवर सुरक्षामा विश्वस्त गराउन नसक्दा 'एक क्लिक’ को भरमा सबै बचत गायब हुने डरले प्रयोगकर्ता डिजिटल वालेटप्रति चासो राखे पनि भर पर्न सकेका छैनन्।
बढ्दो साइबर ठगीसँगै जनचेतनाको कमीका कारणले चाहेर पनि अधिकांश प्रयोगकर्ताहरूले बैङ्कको बलियो विकल्पको रूपमा मोबाइल वालेटलाई अझै स्वीकार गरेको देखिँदैन।
मोबाइल बैङ्किङ भन्दा वालेटको लेनदेन र कारोबार कम हुनुमा अर्को समस्या कारोबारको सीमा समेत देखियो। एक वालेटबाट अर्को वालेटमा प्रतिदिन पचास हजार र प्रतिमहिना पाँच लाखको मात्र कारोबार गर्न पाइन्छ।
परम्परागत पद्धतिमा हस्ताक्षरसहितको चेक नभई वा एटिएम भए पनि पिन कोड नभई पैसा झिक्न सम्भव छैन। तर ह्याक गरेर महत्त्वपूर्ण सूचना चोरी गरेर मोबाइल वालेटमार्फत खाता एक छिनमा रित्तो बनाउन सकिन्छ। प्रयोगकर्ताको मनमा यही डर बढि देखिन्छ वालेटबारे।
वालेट प्रयोगमा ल्याएका कम्पनीहरूले वालेटको प्रचारमा जति खर्च गरिरहेको देखिन्छ साइवर सुरक्षामा प्रयोगकर्तालाई सचेत गराउन न्यून लगानी गरेको देखिन्छ। यसको मार उनीहरूले नै खेपिरहेका छन्।
न्यौपाने प्रयोगकर्ताहरू सचेत भए डिजिटल चोरी र ठगीको जोखिम कम हुने स्वीकार गर्दै अब वालेट सञ्चालनमा ल्याएका कम्पनीहरूले प्रयोगकर्तालाई सचेत गराउन पनि लगानी गर्नुपर्ने बताए।
सिमाले बढाएको समस्या
मोबाइल बैङ्किङ भन्दा वालेटको लेनदेन र कारोबार कम हुनुमा अर्को समस्या कारोबारको सीमा समेत देखियो। एक वालेटबाट अर्को वालेटमा प्रतिदिन पचास हजार र प्रतिमहिना पाँच लाखको मात्र कारोबार गर्न पाइन्छ।
त्यस्तै बैङ्क खाताबाट वालेटमा र वालेटबाट अन्य बैङ्क खातामा पनि प्रतिदिन दुई लाख र प्रतिमहिना दश लाखको मात्र कारोबार गर्न पाइने कानुनी व्यवस्था छ।
तोकिएको भन्दा बढी रकम वालेटमा जम्मा भए उक्त रकम स्वतः सम्बन्धित व्यक्तिको खातामा जाने व्यवस्था छ। जबकि मोबाइल बैङ्किङ तथा ई– बैङ्किङ कारोबारमा प्रतिदिन तीन लाख र बिस लाख सम्मको कारोबार सीमा छ।
फागुन २९, २०७९ सोमबार ००:५६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।