कलाकार किरण केसीको टिकटक अनुभव : भद्दा कुरा आउन थाले, हेर्नै नसकिने भयो

कलाकार किरण केसीको टिकटक अनुभव : भद्दा कुरा आउन थाले, हेर्नै नसकिने भयो

काठमाडौँ : टिकटकमा सक्रिय कलाकारहरूमध्ये हास्य कलाकार किरण केसी पनि पर्छन्। उनको टिकटक खाता हेर्दा उनको क्रेज देखिन्छ नै।

कहिले साडी लगाएर नाच्छन् त उनी कहिले के गरेर। टिकटकका भिडियो हेर्दा उनी खुसी नै देखिन्छन् यो प्लेटफर्ममा। तर उनी खुसी रहेनछन्।

‘टिकटक च्यालेञ्ज सिजन ५’को पत्रकार सम्मेलनमा उनले टिकटकबारे बाँडेको अनुभव नमिठो थियो। उनकै शब्दमा टिकटकको अनुभव

OOO

टिकटकमा मैले प्रशंसा पनि पाएको छु। गाली पनि खाएको छु। तर त्यसले मेरो बजार पनि बढाएको छ। केही साथीभाइहरूले यो उमेरमा पनि टिकटक बनाउने भनेर सल्लाह सुझाव दिन्छन्। ठुलो जमातले यो उमेरमा पनि क्या गर्या भनेर स्याबासी पनि पाएको छु।

नेपालको भेषभुषाको जगेर्ना गर्न म कहिले श्रीमतीको सारी, कहिले लिविष्टिक पनि लगाएर नाच्छु। कहिले विभिन्न पहिरन लगाएर नाचिरहेको हुन्छ। विभिन्न भेष र भाषामा पनि टिकटक बनाएको छु। मेरो बुढीको कुर्था लगाएर बनाएको टिकटक सबैभन्दा धेरै हेरिएको छ।

मजाले राम्री दीपाश्री बहिनी जस्तो नाच्ने कोसिस गरेको छु। तर धेरै कमेन्टहरू पनि आएको छ। व्यक्ति अनुसार सोच फरक त हुन्छ नै। आउने दिनहरूमा सच्चिने मौका पनि पाएँ।   मेरो बिचार सबैसँग  मिल्नुपर्छ भन्ने छैन।

तर, अहिले टिकटक खोल्नै नहुने पनि भइसक्यो। मेरो १६ वर्षको नातिनीले टिकटक खोलेर हेर्दा तथानाम गाली गरेका कुरा आउँछन्। अहिले त परिवार बसेर टिकटक हेर्नै नसक्ने भइसक्यो।

भाइरल हुन जे पनि गर्नु त भएन। आफ्नो घर अनि परिवारलाई सम्झेर टिकटक बनाउन अनुरोध गर्छु। समय अनुसार अपडेट हुनुपर्छ। तर प्रयोग कसरी गर्ने भन्ने विचार गर्नुपर्छ।

टिकटकमा अरूको भिडियो टुक्रा टुक्रा काटेर हाल्नेहरू बढेका छन्। उनीहरूलाई राम्रो भन्न सक्दिन। तिनीहरूलाई त सिधै घोक्राएर ल्याउनु पर्छ। सिनेमा अनि अरूको भिडियोको क्लिप ल्याएर राख्नेहरूलाई फोहोरी हुन्। अर्काको कुरा चोर्नु हुन्न। यस्तालाई त समाजले नै बहिस्कार गर्नुपर्छ।

फागुन २८, २०७९ आइतबार २३:३०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।