पोखरा क्याम्पसमा चैत २ सम्म स्ववियु निर्वाचनको प्रक्रिया रोक्न अदालतको अन्तरिम आदेश
पोखरा : पृथ्वीनारायण (पिएन) क्याम्पसको स्ववियु निर्वाचनको सबै प्रक्रिया चैत २ गतेसम्म रोक्न उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ।
क्याम्पसमा मतदाता झुक्किने गरी अनेरास्ववियु, नेविसंघ लगायतले स्वतन्त्र विद्यार्थी समूह बनाएर डमी सङ्गठन दर्ता गराएपछि निर्वाचन अधिकृतको कार्यालयले नाम परिवर्तन गरिदिएको थियो।
निर्वाचन अधिकृतको कार्यालयले डमी नाम सच्याइदिएपछि निर्वाचित रोक्न माग गर्दै विद्यार्थीहरूले उच्च अदालत पोखरामा रिट दर्ता गरेका थिए।
आइतबार रिटमा भएको बहसपछि न्यायाधीश ऋषि राज भण्डारीको एकल इजलासले अन्तरिम आदेश नआउँदासम्म कुनै गतिविधि नगर्न आदेश दिएको हो।
विद्यार्थी सङ्गठनले ‘स्वतन्त्र विद्यार्थी समूह’ नामको डमी समूह दर्ता गरेकाले निर्वाचन समितिले आफूखुसी नाम परिवर्तन गरेर ‘पृथ्वी विद्यार्थी मञ्च’ राखेर नामावली प्रकाशन गरेको उनीहरूको दाबी छ।
त्यसपछि स्वतन्त्र विद्यार्थी समूहका विद्यार्थीले उच्च अदालत पोखरामा रिट दर्ता गरेका थिए। क्याम्पसमा दीपसन गुरुङ, विप्लवी न्यौपानेलगायत विद्यार्थीले स्ववियु चुनावमा भाग लिन स्वतन्त्र विद्यार्थी समूह बनाएर सङ्गठन दर्ता गराएका थिए।
निर्वाचन समितिले नाम परिवर्तन गरिदिएपछि स्वतन्त्र विद्यार्थी समूहकी न्यौपानेले सोही नाम कायम राखिनु पर्ने माग गर्दै क्याम्पसलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेकी थिइन्।
निर्वाचन समितिलाई पटक-पटक नाम सच्याउन आग्रह गरे पनि नमानेपछि कानुनी बाटो रोज्न बाध्य भएको न्यौपानेको दाबी छ। अल्पकालीन आदेश दिएर उच्चले दुवै पक्षसँग छलफल गर्न २ चैतमा अर्को पेसी तोकेको छ।
यता सङ्गठनको नाम परिवर्तन गरेको विषयमा अदालतमा मुद्दा दर्ता भएको छ। अर्कोतर्फ निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाताको नाम टुङ्गो नलाग्दै नामावली बाहिर ल्याएको भन्दै स्ववियु निर्वाचन कार्यालयमा विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन्।
अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी छटौं, अखिल क्रान्तिकारी ‘विप्लव, अखिल क्रान्तिकारी संयुक्त लगायत विद्यार्थी सङ्गठनले अनिश्चितकाली तालाबन्दी गरेका छन्।
उनीहरूले त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचन अगावै निर्वाचनलाई प्रभावित पार्ने गरी विद्यार्थीको नाम, ठेगाना सहितको व्यक्तिगत विवरण बाहिर ल्याएको आरोप समेत लगाए।
उनीहरूले त्रिभुवन विश्वविद्यालय मार्फत तलब भत्ता लिने शिक्षक, प्राध्यापक, कर्मचारीले आसन्न निर्वाचनमा मतदान गर्न नपाउने, फागुन १९ गतेसम्म दर्ता भएका सङ्घ, सङ्गठन र समूहको नामावली जस्ताको तस्तै पुनः प्रकाशन गर्न माग राखेका छन्।
विद्यार्थी सङ्गठनसँग विवाद बढेपछि क्याम्पस प्रशासन र विद्यार्थी सङ्गठनबिच छलफल भए पनि सहमति हुन सकेको छैन।
आगामी चैत्र ५ गते हुने भनिएको स्ववियु निर्वाचनका लागि पिएन क्याम्पसमा विभिन्न १४ वटा विद्यार्थी सङ्गठनहरूले नाम दर्ता गराइसकेका छन्। अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, नेपाल विद्यार्थी समूह, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियू, नेविसंघ गगन-विश्वप्रकाश समूह, स्वतन्त्र विद्यार्थी समूह लगायत १४ वटा विद्यार्थी सङ्गठन तथा समूहले दर्ता गराएका हुन्।
फागुन २८, २०७९ आइतबार २२:५२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।