उकेरा टप फाइभ : उपराष्ट्रपति उम्मेदवारमा दलका खेलदेखि जावलाखेल टिमको लाचारीसम्म

उकेरा टप फाइभ : उपराष्ट्रपति उम्मेदवारमा दलका खेलदेखि जावलाखेल टिमको लाचारीसम्म

काठमाडौं : राष्ट्रपति अनि उपराष्ट्रपति निर्वाचन केन्द्रीय भएर नेपाली कांग्रेससहितको नयाँ मोर्चा बन्दा नै राष्ट्रपति कांग्रेसलाई अनि उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई भन्ने तय भइसकेको थियो।

सोही सहमति अनुसार कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई दोहोरो भन्दा बढी मतभारले पराजित गरे। तर त्यही सहमति अनुसार उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई छाड्न आठबाट १० दलीय बनेको गठबन्धनमा सहमति हुन सकेन।

जसकारण शनिवारको दिनभरको माहौल उपराष्ट्रपतिको निर्वाचनको वरिपरि घुम्यो। गठबन्धनभित्रबाट जसपासँगै जनमत पार्टीले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दियो। नागरिक उन्मुक्ति पार्टीले त पार्टी अध्यक्षलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको थियो।

पछि जनमतबाट ममता झाको मात्र उम्मेदवारी पर्यो। उता निर्वाचित राष्ट्रपतिभन्दा फरक लिङ्ग वा समुदायबाट उपराष्ट्रपति हुने संवैधानिक प्रावधानविपरित निर्वाचन आयोगका पदाधिकारी फरक लिङ्ग नै हुनुपर्ने भनेपछि अन्योलमा परेको जसपाले आफ्नै पार्टीबाट पुरुष र महिला दुबैलाई उम्मेदवारी दर्ता गर्न लगायो।

जसपाबाट रामसहायप्रसाद यादवले उम्मेदवारी दिए। संविधानतः उनी मधेसी समुदायको उम्मेदवार भएकाले उनको उम्मेदवारी संविधानतः वैध नै देखिन्छ। तर उनी विरुद्ध दुई उजुरी परिसकेका छन्।

तैबिसेक उनको उम्मेदवारी अयोग्य भए के गर्ने भनेर जसपाले विकल्पमा प्रमीला यादवलाई समेत उम्मेदवार बनाएको छ। यदि रामसहायविरुद्धको उजुरी निष्क्रिय भए उनी नै आठ दलका अधिकांश दलको समर्थनको उम्मेदवार बन्ने देखिन्छ। उनको उम्मेदवारी निष्क्रिय भए प्रमीला आधिकारिक उम्मेदवार हुनेछिन्।

सात दलीय गठबन्धन भत्किएर एक्लै बनेको एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्य उम्मेदवार बनेकी छिन्।

राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारलाई जित्न सम्भव थिएन। आठ दलीय मोर्चा एकीकृत थिए। उपराष्ट्रपतिको उम्मेदवारीमा गठबन्धनमा एकमत भएन। तर यसबाट एमाले उम्मेदवारले लाभ पाउने सम्भावना कम देखिन्छ।

किनकि जनमतकी उम्मेदवारको पक्षमा सहकार्य गर्न जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्तिबिच सहमति भएको छ। अब एमालेको आस भनेको उही राष्ट्रिय स्वतन्त्र पार्टी अनि राष्ट्रिय प्रजातन्त्र पार्टीसहित केही स्वतन्त्रको मात्र हो। यी सबै एकातिर भए पनि शाक्यले निर्वाचित हुन आवश्यक मत पाउन सहज देखिँदैन।

अब उकेरा टप फाइभको प्रसङ्ग।

१- ‘बरु ज्वाइँको थर र गोत्र बदलेर शासक बनाए तर छोरीलाई राजकाज दिएनन्’

अन्तर्राष्ट्रिय नारी दिवस मार्च आठदेखि उकेराले इतिहासको पानामा शासनमा महिलाको अवस्थाबारे सिरिज प्रकाशित गरिरहेको छ। शनिवार तेस्रो सिरिज प्रकाशित भयो जहाँ राजकाजमा रहेकाहरूको महिलाप्रतिको मानसिकता पुष्टि गर्ने तथ्यहरू राखिएको छ।

छोरा भए ठिकै। नत्र आफ्नै छोरी भए पनि राजकाजको अधिकार नदिई मल्लकालमा कसरी नाति वा बरु ज्वाइँकै गोत्र बदलेर शासन सत्ता दिए भन्ने ऐतिहासिक प्रमाणसहितको सामाग्री प्रकाशित गरेको थियो।

थप सामाग्री : ‘बरु ज्वाइँको थर र गोत्र बदलेर शासक बनाए तर छोरीलाई राजकाज दिएनन्’

२-स्वयम्भुरत्नको ५० वर्षदेखिको कला तपस्या, उनको हात चलमलाएसँगै प्रसन्न हुन्छन् मछिन्द्रनाथ

दोस्रो सामाग्री स्वयम्भूरत्न बज्राचार्यको जो ५० वर्षदेखि धार्मिक चित्र कोर्न सक्रिय छन्।

पूर्णरत्न बज्राचार्यले समेत परिचित ६९ वर्षका उनी सेतो मच्छिन्द्रनाथको पुजारी समेत हुन्। उनको अनुभव र धार्मिकसँगै कलाको पक्षबारे फोटो फिचरसहितको सामाग्री प्रकाशित भएको थियो।

थप : स्वयम्भुरत्नको ५० वर्षदेखिको कला तपस्या, उनको हात चलमलाएसँगै प्रसन्न हुन्छन् मछिन्द्रनाथ

 

३-सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट पलाँस र सिमलले ढकमक्क

तेस्रो सामाग्री पनि धार्मिक स्थलकै प्रकाशित भयो शनिवार। रुपन्देहीको लुम्बिनीमा जन्मेपछि सिद्धार्थ गौतमले प्राचीन शाक्यहरूको राज्यको राजधानी कपिलवस्तुमा बाल्यकाल र युवावस्थाको राजकीय जीवन बिताएको मानिन्छ।

सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा आफ्ना परिवार र राजकीय जीवन त्यागेर ज्ञानको खोजीमा कपिलवस्तु दरबारको पूर्वतिरको द्वारबाट गृह त्याग गरेका थिए। अहिले यही दरबारमा यो वसन्त ऋतुमा पलाँसले पर्यटकलाई स्वागत गरेको छ। यही विषयमा तस्बिरसहित सामाग्री प्रकाशित भयो

पुरा सामाग्री : पलाँस र सिमलले ढकमक्क तिलौराकोट

४- १० खेलाडीमा समेटिए पनि एपिएफलाई हराउन सकेन जावलाखेलले

सहिद स्मारक ए डिभिजन लिगको शनिवारको एपिएफ र जावलाखेल टिमको प्रतियोगितामा एपिएफका एक खेलाडीले रातो कार्ड पाए। एपिएफ १० जनाको टिममा मैदानमा उत्रिदा पनि जावलाखेलले जित निकाल्न सकेन। दुवै टिम बराबरीमै रहँदा खेल सकिएर अङ्क बाँडे।

शनिवारकै अर्को खेलमा नेपाल पुलिस क्लब पराजित भएर लिगमा शून्य अङ्कका साथ अगाडि बढिरहेको छ।

पुरा समाचार : १० खेलाडीमा समेटिए पनि एपिएफलाई हराउन सकेन जावलाखेलले

५-डा. प्रकाशको मृत्युबाट फर्किएको छ अनुभव 

र, अन्त्यमा उकेराको नियमित स्तम्भ डाक्टरको सुख दुखमा यस पटक डा प्रकाश बुढाथोकीको रोचक अनुभव प्रस्तुत गरेका छौँ। माओवादी द्धन्द्धकालदेखि कोरोनाकालसम्म उनी कसरी ६ पटक मृत्युको मुखमा पुगे अनि कसरी बाँचे रोचक विवरणले सामाग्री भरिएको छ।

पुरा सामाग्री : डा. प्रकाशको मृत्युबाट फर्किएको छ अनुभव : दाँत निकाल्दै माओवादी महिला कमान्डरसँग ठट्टा गर्दा आएको त्यो सङ्कट

फागुन २७, २०७९ शनिबार २३:३५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।