जसपाका उपराष्ट्रपति उम्मेदवार यादवविरुद्ध एमाले र जनमतको उजुरी

जसपाका उपराष्ट्रपति उम्मेदवार यादवविरुद्ध एमाले र जनमतको उजुरी

काठमाडौं : १० दलीय गठबन्धनमध्ये नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका अधिकांश दलको समर्थन पाउन सक्ने जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवार दिएका रामसहायप्रसाद यादवविरुद्ध दुई उजुरी परेका छन्।

एमाले र जनमत पार्टीको तर्फबाट उनको उम्मेदवारी अयोग्य हुने दाबी गर्दै उजुरी परेको हो। तर संवैधानिक प्रावधान अनुसार उनको उम्मेदवारी अयोग्य हुने सम्भावना भने देखिन्न।

राष्ट्रपतिमा खस आर्यबाट रामचन्द्र पौडेल निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला मात्र उम्मेदवार बन्न सक्ने उजुरीकर्ताको दाबी देखिन्छ। तर संवैधानिक प्रावधानमा राष्ट्रपति जुन लिङ्ग वा समुदायबाट निर्वाचित हुन्छन् उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुनुपर्ने उल्लेख छ।

पौडेल खस-आर्य समुदायका हुन् भने यादव मधेसी समुदायका हुन्। यसले संवैधानिक रूपमा बाधा देखिँदैन।

यादवको उपराष्ट्रपति उम्मेदवारबारे निर्वाचन आयोगबाट हुनसक्ने सम्भावित निर्णय हेरेर जसपाले आफ्नै पार्टीबाट प्रमीला कुमारीको उम्मेदवारी समेत दर्ता गराएको छ।

१० दलीय गठबन्धनमै रहेको जनमत पार्टीबाट ममता झाले समेत उम्मेदवारी दिएकी छिन्। १० दलमा रहेका जनमतसँगै लोकतान्त्रिक पार्टी र नागरिक उन्मुक्ति समेत झाको पक्षमा उभिएका छन्। एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराइसकेकी छिन्।

२७ फागुन, २०७९, २०:३३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।