सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट पलाँस र सिमलले ढकमक्क
बुटवल : रुपन्देहीको लुम्बिनीमा जन्मेपछि सिद्धार्थ गौतमले प्राचीन शाक्यहरूको राज्यको राजधानी कपिलवस्तुमा बाल्यकाल र युवावस्थाको राजकीय जीवन बिताएको मानिन्छ।
सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा आफ्ना परिवार र राजकीय जीवन त्यागेर ज्ञानको खोजीमा कपिलवस्तु दरबारको पूर्वतिरको द्वारबाट गृह त्याग गरेका थिए। अहिले यही दरबारमा यो वसन्त ऋतुमा पलाँसले पर्यटकलाई स्वागत गरेको छ।
त्यहाँ पुग्ने आन्तरिक एवम् बाह्य पर्यटकहरू यतिखेर पलाँस र केही सिमलका राताम्मे दृश्यमा रमाउने गरेका छन्।
बुद्धकालमा पलाँस, बर, पिपल, बेल, बाँस, अशोक जस्ता वृक्षहरूको चर्चा गरिएको छ। त्यसो त प्राचीन कालदेखि नै पलाँसलाई औषधिको रूपमा प्रयोग हुँदै आएको छ।
यो रूखमा ब्रह्मा, विष्णु र महेश तीन वटै देवताको बास हुने शास्त्रीय मान्यता छ। लुम्बिनी विकास कोषका तिलौराकोट शाखा प्रमुख माधवप्रसाद आचार्यले फागुन दोस्रो सातादेखि चैतको पहिलो सातासम्म तिलौराकोटमा पलाँस फुल्ने जानकारी दिए।
यही मौसममा पर्यटकहरू बढ्ने र अहिले तिलौराकोटमा दैनिक १ हजार बढी पर्यटक आउने गरेको उनले जानकारी दिए।
बौद्धमार्गीहरुद्वारा पुजीत प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोटमा पाचौ शताब्दीमा प्रसिद्ध चिनिया यात्री फासियान र सातौँ शताब्दीमा हृवेयनसाङ्गले भ्रमण गरेका थिए।
जङ्गलभित्र रहेको प्राचीन कपिलवस्तुको राजधानी सहर तिलौराकोटको भग्नावशेषलाई पुरातत्त्वविद् पूर्णचन्द मुखर्जीले सन् १८९९ मा पुनः चर्चामा ल्याएका थिए।
फागुन २७, २०७९ शनिबार १८:४६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।