पीएन क्याम्पसमा स्ववियु चुनावको सरगर्मी : उम्मेदवार बन्न नेताका दैलो चाहर्दै विद्यार्थी नेता

पीएन क्याम्पसमा स्ववियु चुनावको सरगर्मी : उम्मेदवार बन्न नेताका दैलो चाहर्दै विद्यार्थी नेता

पोखरा : देशकै ठूलो पृथ्वीनारायण क्याम्पस (पीएन)मा स्ववियु निर्वाचनको लागि चुनावी सरगर्मी सुरु भएको छ।

लामो समयदेखि रोकिएको स्ववियु निर्वाचन आफ्नो पोल्टोमा पार्ने योजनाकासाथ विभिन्न विद्यार्थी संगठनहरुले सक्रियता देखाउन थालेका छन्। 

राजनीतिको पहिलो खुड्किलो मानिने स्ववियु निर्वाचन नजिकिएसँगै त्रिभुवन विश्वविद्यालयको सबैभन्दा धेरै विद्यार्थी रहेको पीएन क्याम्पसमा पनि विद्यार्थी संगठनहरु चुनावी रणनीतिमा जुट्न थालेका छन्।  

देशकै ठूलो क्याम्पस भएकाले यसको चुनावी परिणामले विशेष महत्व राख्ने भएकाले विद्यार्थी संगठनको चुनाव भए पनि राजनीतिक दलका नेताहरूले समेत स्ववियु निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको देखिन्छ।

विगतका निर्वाचनमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्यानलै जित्दै आएको छ।

यस क्याप्पसमा स्ववियुको सभापतिमा विजयी भएका अधिकांश विद्यार्थी नेताहरू मन्त्री बनेको इतिहास भएकाले पनि विद्यार्थी संगठन भित्र पनि नेतृत्वमा पुग्न हानथाप हुने गरेको छ। 

निर्वाचनका लागि केही विद्यार्थी नेताहरू आफ्नो संगठनलाई मत मागिरहेका भेटिन्छन्। उता अन्य केही विद्यार्थी नेताहरू भने टिकट हात पार्नका लागि आफू निकट नेताको घर दैलो चाहर्दै आफ्नो पक्षमा लविङ गर्न थालेका छन्।

आगामी चैत्र ५ गते पृथ्वीनारायण क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि विभिन्न १४ वटा विद्यार्थी संगठनहरुले निर्वाचनमा भाग लिनका लागि नाम दर्ता गराएका छन्। 

अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, नेपाल विद्यार्थी समूह, नेपाल विद्यार्थी संघ, नेविसंघ गगन विश्वप्रकाश समूह, स्वतन्त्र विद्यार्थी समूह लगायत १४ वटा विद्यार्थी संगठन तथा समूहले नाम दर्ता गराएका हुन्। 

एकदर्जन भन्दा बढी विद्यार्थी संगठनले निर्वाचनमा सहभागिताका लागि नाम दर्ता गराए पनि मुख्य प्रतिस्पर्धा भने एमाले निकट अनेरास्ववियु र कांग्रेसको भातृसंगठन नेविसंघबीच हुने निश्चित छ।

विगतमा समेत पीयन क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघबीच प्रतिस्पर्धा हुँदै आएको थियो। एक साता पछि हुने स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरु एक्लाएक्लै चुनाव लड्ने मनस्थितिमा देखिन्छन्।

पछिल्लो समय केन्द्रमा माउ पार्टीबीच चुनावी तालमेलदेखि सत्ता सहकार्य भइरहेको अवस्थामा पीएन क्याम्पसमा स्ववियु निर्वाचनमा भने सत्तारुढ पाँच दलका भातृसंगठनबीच तालमेल गर्न केन्द्रबाट कुनै निर्देशन नआएकाले एक्लाएक्लै चुनाव लड्ने मुडमा विद्यार्थी संगठन देखिन्छन्।

अखिल क्रान्तिकारीले स्ववियु सभापतिमा वसन्त भट्टचनलाई उमेदवार बनाउने निर्णय गरिसकेको छ। एमालेनिकट अनेरास्ववियु र कांग्रेसनिकट नेविसंघले भने नाम टुंग्याउन सकेको छैनन्।

नेविसंघले उम्मेदवारको नाम टुंगो लगाउने जिम्मा पार्टीलाई दिएको छ। नेविसंघ क्याम्पस कमिटीले सभापतिमा गौरव बराल, शोभाखर चापागाईं, सुशील न्यौपाने र सञ्जय आलेको नाम पार्टी कमिटीमा बुझाएको दावी गरेको छ। 

निर्वाचन कार्यालयमा तालाबन्दी 

उता स्ववियु निर्वाचन कार्यालयमा भने विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्। निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाताको नाम टुंगो नलाग्दै नामावली बाहिर ल्याएको भन्दै विभिन्न आधा दर्जन भन्दा बढी विद्यार्थी संगठनहरुले अनिश्चितकालीन तालाबन्दी गरेका हुन्।

अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी छैटौं, अखिल क्रान्तिकारी ‘विप्लव, अखिल क्रान्तिकारी संयुक्त लगायत विद्यार्थी संगठनले अनिश्चितकालीन तालाबन्दी गरेका हुन। 

उनीहरूले त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचन अगावै निर्वाचनलाई प्रभावित पार्ने गरी विद्यार्थीको नाम, ठेगानासहितको व्यक्तिगत विवरण बाहिर ल्याएको आरोप लगाएका छन्।

उनीहरूले त्रिभुवन विश्वविद्यालयमार्फत तलब भत्ता लिने शिक्षक, प्राध्यापक, कर्मचारीले आसन्न निर्वाचनमा मतदान गर्न नपाउने, फागुन १९ गतेसम्म दर्ता भएका संघ,संगठन र समूहको नामावली जस्ताको त्यस्तै पुनः प्रकाशन गर्न माग राखेका छन्।

फागुन २६, २०७९ शुक्रबार २०:३५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।