आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरको कारण बुटवलका उद्योगी चिन्तित

आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरको कारण बुटवलका उद्योगी चिन्तित

बुटवल : बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २१ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन शुक्रबार बुटवलमा सम्पन्न भएको छ।

संघको सभाहलमा आयोजित अधिवेशनको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि शेरचनले नेपालको आर्थिक विकास र औद्योगिक विकासका लागि स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।

उनले आफू प्रदेश प्रमुख भएपछि यस क्षेत्रमा औद्योगिक विकासका लागि आवश्यक औद्योगिक क्षेत्रको विस्तार एवं निर्माणका लागि दुवै तहका सरकारलाई ध्यानाकर्षण गराएको स्मरण समेत गरे।

कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका कार्यवाहक अध्यक्ष एजाज आलमले अहिले उद्योगीहरुको अनुहारमा हाँसो हराएको स्थिति रहेको बताउँदै बढ्दो आर्थिक मन्दीका कारण आफूहरुले सञ्चालन गरेका उद्योगलाई बचाएर लैजाने चुनौती रहेको उल्लेख गरे।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले मुलुकको अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रमा राज्यको लगानी हुनु पर्ने कुरामा जोड दिए।

कार्यक्रममा संघका अध्यक्ष हीरामणि भट्टराईले आर्थिक मन्दीसँगै बैंकको चर्को ब्याजको प्रत्यक्ष असर नेपालका उद्योगहरूमा परेको उल्लेख गर्दै पछिल्ला दिनमा बुटवल औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूको उत्पादन करिब ५० प्रतिशतले घटेको जानकारी दिए।

उनले औद्योगिक क्षेत्र समय क्रमअनुसार सानो हुँदै गएको र उद्योग सञ्चालन गर्न कठिनाइ भएको बताउँदै औद्योगिक क्षेत्र विस्तार गर्न आग्रह गरे।

फागुन २६, २०७९ शुक्रबार १९:५७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।