शिव शिखर सहकारीको बुटवल शाखा अझै खुलेन, संघर्ष समितिले डाके भेला
बुटवल : सदस्यहरूको रकम तिर्न नसकेपछि बन्द रहेको शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको बुटवल शाखा अझै खुलेको छैन।
सहकारी संस्थाले एक सूचना जारी गर्दै मर्जर प्रक्रियामा जान लागेको र देशको आर्थिक स्थित खराब हुँदा रकम तिर्न नसकेको भन्दै फागुन २३ गतेसम्मका लागि सहकारीको बुटवल शाखा बन्द गरेको थियो।
तर २३ गते पछि पनि सहकारी खुल्न सकेको छैन।
सहकारीले बिहीबार पुनः सूचना जारी गर्दै सञ्चालक समितिहरु अहिले सहजिकरणका लागि विभिन्न शाखाहरुको कार्यक्रम सकेर बुटवल आउने कार्यतालिका भएकाले अर्को सूचना नआउँदा सम्म कार्यालय बन्द हुने जानकारी गराएको छ।
सहकारी बन्द हुँदा अहिले पनि दैनिक सयौंको संख्यामा बचतकर्ताहरू कार्यालयमा पुगे पनि फर्कन बाध्य भएका छन्। दैनिक खाजा खर्च कटाएर समेत सहकारीमा रकम जम्मा गरेका बचतकर्ताहरू आफ्नो रकम जोखिममा परेसँगै आत्तिएका छन्।
सहकारीका सञ्चालकहरुले पनि जग्गा बिक्री गरेर भए पनि सेयर सदस्यहरूको रकम फिर्ता गर्ने बचन दिइरहेको छ।
भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सहकारी २०६९ असोज २८ गते सहकारी विभागमा दर्ता भएको थियो। २०७८ साउन १९ मा व्यवसाय दर्ता गरेर सहकारीले बुटवलको योगीकुटीमा डिपार्टमेन्टल स्टोर सञ्चालन गरेको थियो।
रकम माग्ने बचतकर्ताहरूको भीड लागेपछि सहकारीले माघ ७ गतेभित्र सबै रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको थियो।
तर, भुक्तानी गर्ने बेला भएपछि सहकारीका सञ्चालक र व्यवस्थापक सूचना टाँस गरेर सम्पर्क विहीन भएका छन्।
बचतकर्ता द्वारा भेलाको आव्हान
सहकारीले रकम फिर्ता दिने छाँटकाँट नदेखाएपछि सहकारीबाट पीडित भएका बचतकर्ताहरुले भेलाको आव्हान गरेका छन्।
सहकारीको गेटमै एक सूचना जारी गर्दै विशेष छलफलका लागि चैत ३ गते सहकारीकै कार्यालय अगाडि सहकारीबाट पीडित भएकाहरूलाई उपस्थित हुन आग्रह गरेका छन्।
सहकारी बाट पीडित बनेका राजेन्द्र झाक्रिले उक्त भेलाबाट बचतकर्ताहरु कसरी अगाडि बढ्ने भन्ने बारे निचोडमा पुगेर अघि बढ्ने बताए।
यता समस्याग्रस्त बनेका बुटवलका सहकारीहरूले लामो समय देखि बचतकर्ताले रकम फिर्ताको माग गरे पनि अहिले सम्म दिन सकेका छैनन्।
बचतकर्ताहरू दैनिक जसो सहकारीका ढोकामा आफ्नो रकम लिन पुगे पनि सहकारीका सञ्चालकहरुले ‘पछि आउनुस, हामीले तपाईंको रकम तिर्छौ’ भन्ने रेडिमेट जवाफ दिएर फर्काउने गरेका छन्।
काठमाडौंमा दर्ता भएर बुटवलको राजमार्ग चौराहमा कारोबार गर्दै आएको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले गैर सदस्यलाई बिनाधितो ऋण प्रवाह गरी मापदण्ड विपरीत आर्थिक कारोबार गर्दा समस्यामा परेको हो।
सुप्रिमले करिब ५० जना कर्मचारी परिचालन गरी रूपन्देही र कपिलवस्तुका मुख्य सहर र ग्रामीण क्षेत्रबाट दैनिक बचत संकलन गर्दै आएको थियो। त्यसमध्येको करिब १ अर्ब २० करोड रुपैयाँ काठमाडौंका गैर सदस्यलाई बिनाधितो लगानी गरेको हो।
रूपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष वसन्तप्रसाद ढकालले सहकारीका नियमन निकायहरू सहकारीलाई नियमन गर्नुको सट्टा अधिकार क्षेत्रभित्र नपर्ने भन्दै तर्किएपछि बचतकर्ताहरू थप सशंकित भएको बताए।
प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदेशमा दर्ता नभइ सञ्चालन भएका सहकारीहरूमा अपचलनको गुनासो आएको बताए।
रूपन्देहीका २ सय ८२ सहकारीहरू पछिल्लो समय मर्ज भएर २ सय ५६ भएका छन्। लुम्बिनी प्रदेशमा दर्ता भएका ७ सय ६३ सहकारी छन्।
फागुन २६, २०७९ शुक्रबार १९:११:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।