इतिहास बनाउने अवसर : सरकारले साथ दिए पहिलो महिला आईजीपी हुनसक्छिन् किरण
काठमाडौं : नेपाल प्रहरीको रिक्त पाँच एआईजी पदमा बढुवा सिफारिसमा डीआईजी किरण बज्राचार्य पाँचौं नम्बरमा सिफारिसमा परेकी छिन्।
समूहगत प्रतिस्पर्धाको आधारमा बज्राचार्य एआईजी बढुवाको सिफारिसमा परेकी हुन्। बज्राचार्य अपराध अनुसन्धानमा पोख्त र अन्तराष्ट्रिय पुरस्कार प्राप्त महिला प्रहरी अधिकारी हुन्।
उनी सिफारिसमा पर्दा अर्की अब्बल महिला प्रहरी मिरा चौधरी छुटेकी छिन्। उनी अहिले उपत्यका ट्राफिक प्रहरी महाशाखामा छिन्। चौधरी दिनेश अधिकारी चरी लगायतको अप्रेशनमा सहभागी महिला प्रहरी हुन्।
सिफारिसमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा र श्यामलाल ज्ञवाली क्रमशः बढुवा सिफारिस भएका छन्। बज्राचार्य क्रम संख्या पाँचौंमा सिफारिस भएकी छिन्।
कुँवर मधेस प्रदेश, राई लुम्बिनी प्रदेश, थापा वाग्मती प्रदेश, ज्ञवाली कोशी प्रदेश र बज्राचार्य प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत छन्।
३० वर्षीय सेवा अवधि कायम रहेमा धिरजप्रताप सिंहसहितको टोली चैतमा अवकाशमा जाँदा अहिले बढुवा भएका मध्येबाट बढुवा भएर प्रहरी महानिरीक्षक नियुक्त हुनेछन्।
३० वर्षीय सेवा अवधि कायम रहेमा सिंहले चैत ११ मा अवकाश पाउने छन्। त्यसपछि यही सिफारिसको आधारमा बढुवा भएका मध्ये एक जनाले प्रहरी नेतृत्व सम्हाल्ने छन्।
प्रहरी महानिरीक्षक बढुवामा सरकारले वरिष्ठता, कार्यक्षमता, नेतृत्वको गुण लगायतका पाँच आधारमा एआईजी मध्येबाट नियुक्त गर्नसक्ने प्रावधान छ।
पहिला वरिष्ठता अनिवार्य समान मानिन्थ्यो। तर सिंहको बढुवाविरुद्ध परेको रिटमा सर्वोच्चबाट आएको फैसलाबाट कसलाई बढुवा गर्ने त्यसको अधिकार सरकारको भएको व्याख्या भएकाले सरकारले एआईजी मध्येबाट जसलाई पनि आईजीपी नियुक्त गर्नसक्ने बाटो खुला छ।
यसले प्रतिस्पर्धाको आधारमा पाँचौं नम्बरमा सिफारिसमा परेकी किरणको बढुवामा अवरोध नआए र सरकारले चाहेमा उनलाई पहिलो महिला प्रहरी महानिरीक्षक नियुक्त गर्नसक्ने बाटो खुल्ने छ।
सिफारिसमा परेकाविरुद्ध १५ दिनभित्र उजुरी गर्न सकिन्छ।
फागुन २६, २०७९ शुक्रबार १८:५१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।