फिल्म नचलेपछि अनमोलको टिप्पणी– म शून्यमा झरेँ, आगामी फिल्म मेरो करिअरकै पहिलो हुनेछ
काठमाडौं : फिल्म ‘२.० छड्के’ नचलेपछि नायक अनमोल केसीले आफू शून्यमा झरेको टिप्पणी गरेका छन्।
आफूले दर्शकलाई निराश बनाएको स्वीकार गर्दै उनले यसलाई आफैँलाई दुःखी बनाएको बताएका छन्। नवौं सिनेमामा आउँदा परिपक्व हुनुपर्नेमा आफू चुकेको उनले स्वीकार गरेका छन्।
आफूले अब गर्ने सिनेमा करिअरको पहिलो सिनेमा हुने उनले बताएका छन्।
‘मेरो करिअरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ,’ उनले लेखेका छन्, ‘अर्थात् मेरो करिअरको दोश्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ।’
अनमोलले शुभचिन्तक र दर्शकको साथ र सहयोग रहेसम्म निरन्तर कोसिस गर्ने प्रतिबद्धतासमेत जनाए। यसका साथै उनले चलचित्र ‘छक्का पन्जा ४’लाई बधाईसमेत दिएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई थाहा छ मैले २.० छड्के मार्फत मलाई माया गर्ने दर्शकहरूलाई निराश बनाएँ। जुन दर्शकहरूको साथको कारण म यहाँ आइपुगेँ। उहाँहरूलाई नै निराश बनाउँदा म झनै दुःखी भएको छु। २.० छड्के मेरो नवौं सिनेमा थियो। नवौं सिनेमामा आइपुग्दा म झनै परिपक्व हुनपर्थ्यो । यहाँनेर म चुक्न पुगेँ। विश्वस्त हुनुस्, यो समय पनि बितेर जान्छ। घाम डुबेपछि फेरि नयाँ बिहानी हुन्छ। म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु। दुखेका घाउहरूमा मल्हम लगाउनेछु। अब नवौंपछिको दशौं सिनेमा दशपछिको शून्य हटेपछि बन्ने एक अर्थात् आज म शून्यमा छु। र, मेरो करिअरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ। अर्थात् मेरो करिअरको दोश्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ। जबसम्म शुभचिन्तक र दर्शकहरूको साथ र सहयोग रहि रहनेछ, मेरो कोशिस निरञ्तर जारी रहनेछ। पशुपति नाथले हामी सबैको कल्याण गर्नु हुनेछ।’
फागुन २६, २०७९ शुक्रबार १३:३६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।