जसपालाई उपराष्ट्रपति दिने निर्णय भइसकेको छैन : उपसभापति खड्का

जसपालाई उपराष्ट्रपति दिने निर्णय भइसकेको छैन : उपसभापति खड्का
तस्बिर- अनलाइनखबर

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताएका छन्। 

शुक्रबार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकको दर्शनपछि उनले अब छिट्टै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए। उनले दलहरूको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताए। 

उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन्। प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ। सम्बन्धित दल र नेताहरूको बैठक बोलाएर औपचारिक रूपमा निर्णयमा पुग्छौं। दलहरूको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ। जसपालाई उपराष्ट्रपति दिने कुरा ८ दलको बीचमा प्रवेश गरिसकेको छैन। त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ।’

खड्काले पदको लोभका कारण पुस १० गते कांग्रेस सहितको गठबन्धन भत्किएको स्वीकार गरेका छन्।

उनले नेपाललाई रूपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरू मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा मुलुकलाई लैजाने संकल्प गरेर चुनाव गएपछि सहमति अनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किए पनि आन्तरिक रूपमा सच्याएर अघि बढेको बताए। 

उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेण्डामा सहमति भएका दलहरूबीचमा आन्तरिक रूपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद अघि बढाउँदै लैजानुको परिणाम बिहीबार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएको बताए। 

उनले भने, ‘नेपाललाई रूपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरू मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा मुलुकलाई लैजाने संकल्प गरेर गएका थियौं। तत्कालीन गठबन्धनको बहुमत पुग्नेगरी मत परिणाम पनि आयो। दुर्भाग्यवश पुस १० गते एजेण्डाहरूमा सहमत भएका दलहरू पदको कारणले, मैले भन्नुपर्छ, गठबन्धन भत्कियो। त्यसै दिनदेखि पनि हामीले एजेण्डामा सहमति भएका दलहरूबीचमा आन्तरिक रूपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद हुँदै गयो। र अन्ततोगत्वा यो परिस्थिति बन्यो।’ 

उपसभापति खड्काले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ने कुरा सपनामा पनि नसोच्न आग्रह गरे।

उनले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहोर्याउने बताए। उनले अहिलेको गठबन्धन अब एजेण्डामा टसमस नभई ५ वर्ष नै अघि बढ्ने दाबी गरे।

फागुन २६, २०७९ शुक्रबार १२:५१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।