विमोक्ष : लेखनमा चुकेको ‘एडल्ट’ प्रेम कथामा उत्कृष्ट प्रस्तुतिकरण

विमोक्ष : लेखनमा चुकेको ‘एडल्ट’ प्रेम कथामा उत्कृष्ट प्रस्तुतिकरण

प्रेमका पनि अनेकन् किसिम। मानिसका पनि अनेकन् जात। लैंगिकताकै कारण पस्किएर दिएको अधिकार। हरेकका बेग्लाबेग्लै स्वभाव, कुनै समाजले थोपरिदिएको, कुनै संस्कारले।

आफूभन्दा २५ वर्ष जेठी रश्मी आन्टीको शरीर र अनुभवी शरीरभोगमा लठ्ठीएको १९ वर्षे ठिटो कमल घिमिरे अर्को चरित्र।

यहि थरीथरीका मानिसहरू, थरीथरीका विभेदहरूमा अहिले मञ्चन भइरहेको नाटक ‘विमोक्ष’ले दुई गम्भीर मुद्दामा प्रेमको दृष्टिकोणबाट कथावस्तु प्रस्तुत गरेको छ। प्रेम अनि जातीय विभेद र प्रेम अनि उमेर अन्तर।

कथावस्तु
नाटकमा दुई चरित्र छन् तर चार पात्र। मुमाहजुर (सगुन शाह) र उनको अधबैंशे उमेर रश्मीदेवी (पवित्रा खड्का) दीप दर्नाल (घिमिरे युवराज) र उसको किशोरावस्था कमल घिमिरे (सागर खाती कामी)।

श्रीमान्को प्रेम पाउन गरेको संघर्ष, प्रेमको बहानामा पाएको श्रीमान्को कुटाइ। श्रीमान्का साथीहरूको गिद्दे नजरबाट बच्न गरेको संघर्ष। आम गृहणीले भोग्नुपरेको घरेलु हिंसा, यौन उत्पीडन।

जब श्रीमान्को मृत्यु हुन्छ, तब प्रेममा स्वतन्त्रता पाएकी महिला पात्र हुन् रश्मीदेवी। उच्चवर्गाीय कर्णेलको परिवारमा भौतिक सुख सयल पाए पनि प्रेम नपाएकी रश्मीदेवी बोकेर वर्तमानमा बाँचेकी वृद्ध मुमाहजुर एउटा चरित्र हो।

त्यस्तै, आफूभन्दा २५ वर्ष जेठी रश्मी आन्टीको शरीर र अनुभवी शरीरभोगमा लठ्ठीएको १९ वर्षे ठिटो कमल घिमिरे अर्को चरित्र। रश्मी आन्टीसँगको शारीरिक सामिप्यता प्रेम थियो या भ्रम?

कर्णेलबाट प्रेम सुख नपाएकी महिलाले भोग्नुपरेको हिंसामा महिला पात्र छन्। जातका कारण प्रेम र डेरा दुवै नपाएर उसले भोग्नुपरेको दुःख पीडाको वकालतमा पुरुष पात्र।

दीप दर्नाल हुँदा कोठा नपाएको ठिटोले नामथर परिवर्तन गरेर कमल घिमिरे बन्ने बित्तिकै परिवार पायो, प्रेमका लागि मुटु पायो। जब उसको वास्तविक पहिचान बाहिरियो, उसले न प्रेम गरिरहेको मुटु पायो न डेरा नै। दुवैबाट बसाइँ सर्नुपर्यो। वर्तमानको दीप दर्नाल र विगतको कमल घिमिरे एउटा चरित्र हो।

नाटकको द्वन्द्व, लैंगिक हिंसा र जाजीय विभेद हो। कर्णेलबाट प्रेम सुख नपाएकी महिलाले भोग्नुपरेको हिंसामा महिला पात्र छन्। जातका कारण प्रेम र डेरा दुवै नपाएर उसले भोग्नुपरेको दुःख पीडाको वकालतमा पुरुष पात्र।

सबल पक्ष
अनुवाद र पुराना नाटकहरूले मञ्च ओगटिरहेको समयमा नाटक ‘विमोक्ष’ मौलिक नाटकसहित मञ्चन भइरहेको छ। नाटकको कथावस्तुमा केहि समस्या भए पनि यसको सबैभन्दा सबल पक्ष प्रस्तुतिकरण हो।

बितेको समय र वर्तमान समयलाई एकै मञ्चमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ। यसका लागि मञ्च परिकल्पना गर्ने र त्यहि परिकल्पना अनुसारको सेट डिजाइन गर्ने कलाकारहरूको मुक्त कण्ठले प्रशंशा गर्नैपर्छ।

नाटकमा प्रविधिको भरपुर प्रयोग गरिएको छ। रश्मीदेवीले दीप दर्नाललाई फोन गर्दा भित्तामा भिडियो प्ले हुन्छ। कर्णेलको सद्गद् गरेको दृश्य पृष्ठभूमिमा बज्दा दर्शकलाई घाटमै लैजान्छ।

नाटकका संवादहरू बडो पेचिला छन्। नाटकको सुरुमा रश्मीदेवी र मुमाहजुरको संवादले उनीहरू एकै हुन् भन्ने प्रस्ट्याउँछ।

एक मञ्चमा दुई सेट छन्, एउटा विगत र अर्को वर्तमान। प्रकाश संयोजन मार्फत दर्शकलाई विगतमा लैजान र फेरि वर्तमानमा ल्याउन नाटक सफल छ।

नाटकका संवादहरू बडो पेचिला छन्। नाटकको सुरुमा रश्मीदेवी र मुमाहजुरको संवादले उनीहरू एकै हुन् भन्ने प्रस्ट्याउँछ।

जसमा भनिएको छ, ‘कसले कसलाई बचाएको छ, त्यो त देखिरहेको छ सारा संसारले। म नभई तिमीले सास पनि फेर्न सक्दिनौं। जुन दिन मलाई बिर्सन्छ्यौ नि, त्यो दिन तिम्रो सास फुस्सै जान्छ।’

दीप दर्नाललाई मुमाहजुरले विवाह गर्यौ भन्ने प्रश्नमा गरेको प्रतिप्रश्नले शरीरमा काँडा उर्माछ, जसमा भनिएको छ, ‘एउटा दलितले बस्नका लागि कोठा भाडामा त पाउँदैन प्रेम गर्न मुटु पाउँछ?’

यी र यस्ता पेचिला संवादले नाटकलाई छरितो बनाएको छ। अँध्यारो कोठामा एक घण्टा आनन्दले बिताउन सकिन्छ।

वर्तमानमा जब कमल उसको वास्तविक नाम दीप दर्नाल बनेर मुमाहजुरका अघि आउँछ र संवाद सुरु गर्छ, त्यहाँ प्रेम हराएको छ, यौन मात्रै हावी छ।

अभिनयको कुरा गर्दा, सबै कलाकार आफ्ना चरित्रमा मौलिक छन्। प्रत्यक्ष आम दर्शकका अघि अभिनय गर्नुपर्ने चुनौतीपूर्ण काम हो। यसका लागि चारैजना कलाकार धन्यवादका पात्र छन्।

लेखनमा चुक
नाटकको कथावस्तु लेखन केहि ठाउँमा भने चुकेको छ। रश्मीदेवी आफैँ प्रेम नपाएर छटपटिएकी पीडित पात्र हुन्। उनले प्रेम गरेको पात्र कमल घिमिरे उनीभन्दा २५ वर्ष कान्छो छ।

वर्तमानमा जब कमल उसको वास्तविक नाम दीप दर्नाल बनेर मुमाहजुरका अघि आउँछ र संवाद सुरु गर्छ, त्यहाँ प्रेम हराएको छ, यौन मात्रै हावी छ। दीप मुमाहजुरलाई आरोप लगाउँछ, रश्मीदेवीले कमल घिमिरेको कच्चा उमेरको फाइदा उठाइन्।

नेपाली समाजमा पुरुष बढि उमेरको हुनुपर्छ भन्ने भाष्य निर्माण भएको लामो समय भयो। ८० वर्षको शिवनारायण र ७ वर्षको गोमादेवीको प्रेम सजिलै स्वीकार्छ समाजले। यो नाटकमा पनि कमल घिमिरे कम उमेरको भएकैले रश्मीदेवीले उसको शरीरको फाइदा उठाएको भन्ने भाव पर्नजान्छ।

उच्च वर्गको महिलाले कम उमेरको दलित युवालाई आफ्नो यौन सन्तुष्टिका लागि राखेको जस्तो सन्देश गएको छ। परिवर्तनको पक्षमा भएकाहरूलाई यस्तो सन्देश मन नपर्न सक्छ।

केहि प्राविधिक कमजोरीका बाबजुद नाटक सुन्दर बनेको छ। ‘एडल्ट’ प्रेमको कथा भएकाले बालबालिका साथमा लिएर नाटक हेर्न नजानुहोला।

नाटकमा कर्णेलको मृत्यु कसरी भयो प्रष्ट छैन। युद्धप्रभावित क्षेत्रमा भनिएको छ तर त्यो देश काल, परिस्थितिसिँग मिल्दोजुल्दो छैन। यत्तिको मेहनत गरिसकेपछि कथावस्तुमा कल्पनाभन्दा देश खोज्नु दर्शकको दायित्व हो।

त्यस्तै प्रविधिमार्फत भिडियो प्ले गरेर नाटक पृथक त बनेको छ। तर सलामी दिएका दृश्यहरू अनावश्यक छन्। अलि लामो पनि। जसले गर्दा दर्शकलाई फिल्म हेरेको या नाटक छुट्याउन समस्या पर्छ। अहिले बनेको सेटका लागि भिडियो प्ले गर्नुभन्दा अर्को विकल्प बढि उपयोगी हुनसक्थ्यो।

केहि प्राविधिक कमजोरीका बाबजुद नाटक सुन्दर बनेको छ। ‘एडल्ट’ प्रेमको कथा भएकाले बालबालिका साथमा लिएर नाटक हेर्न नजानुहोला। नाटक शिल्पी थियटर बत्तिसपुतलीमा मञ्चन भइरहेको छ।

फागुन २६, २०७९ शुक्रबार १२:३५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।