प्रचण्डविरुद्धको रिट ईश्वरप्रसाद खतिवडाको इजलास, एघारौं नम्बरमा पालो
काठमाडौं : प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ।
अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो।
एकल इजलासको एघारौं नम्बरमा उनीविरुद्धको रिटको सुनुवाइ हुनेछ। सुरुको तीनवटा बन्दी प्रत्यक्षीकरणको मुद्दा छ।
ती रिट बिहीबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको थियो। तर, श्रेष्ठको एकल इजलाससँगै संयुक्त इजलास पनि परेकाले उक्त मुद्दा ‘हेर्न नभ्याइने’ भएको थियो।
बिहीबार हेर्न नभ्याइएकाले उक्त रिटको पेशी शुक्रबारका लागि सारिएको थियो।
प्रचण्डले ०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताएका थिए।
प्रचण्डको यही अभिव्यक्तिविरुद्ध अधिवक्ताद्वय ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले सर्वोच्चमा अलगअलग रिट दायर गरेका थिए। अधिवक्ताद्वयको रिटलाई सर्वोच्च प्रशासनले २०७९ कात्तिक २४ गते दरपिठ गरिदिएको थियो।
दरपिठविरुद्ध अधिवक्ताद्वय आरण र बुढाथोकीले सर्वोच्चको इजलासमा निवेदन दिएका थिए। त्यही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खतिवडा र फुयाँलको इजलासले गएको शुक्रबार सर्वोच्च प्रशासनलाई रिट दर्ता गर्न आदेश दिएको हो।
त्यसपछि मंगलबार आरण र गिरीले प्रचण्डविरूद्ध अनुसन्धान गर्न माग गर्दै छुट्टाछुट्टै रिट दर्ता गरेका हुन्।
फागुन २६, २०७९ शुक्रबार ११:०५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।