राष्ट्रपति निर्वाचनपछि रास्वपाको स्पष्टीकरण– ‘वाचापत्रअनुसारका उम्मेदवार थिएनन्, बहिस्कार गर्नु पनि उपयुक्त थिएन’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनका सन्दर्भमा तीन बुँदे स्पष्टीकरण दिएको छ।
बिहीबार भएको राष्ट्रपति निर्वाचनमा रास्वपाले अन्तिम समयमा आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेसँगै महामन्त्रीसमेत रहेका पार्टी प्रवक्ता मुकुल ढकालले शुक्रबार सामाजिक सञ्जालमार्फत तीन बुँदे स्पष्टीकरण दिएका हुन्।
ढकालले आफूहरूको वाचाअनुसार गैरदलीय व्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गर्न आफूहरूसँग मतभार नरहेको र हार्ने निश्चित चुनावमा गैरदलीय व्यक्तिलाई उठाएर उसको छविमा असर पार्न नखोजेको बताएका छन्।
गणतन्त्रको सिद्धान्तमा अघि बढेको पार्टीले निर्वाचन बहिष्कार गर्नु उपयुक्त नभएकैले निर्वाचनमा भाग लिएको समेत प्रष्ट्याएका छन्।
उनले पार्टीका सासंदहरूले कुनै एक उम्मेदवार रोज्दा पनि विवादित हुने निश्चित रहेको उल्लेख गरेका छन्। भिन्दाभिन्दै उम्मेदवारमा मतदान गर्दा एकता छैन कि भन्ने सन्देश समेत जान सक्ने भएकाले एकै उम्मेदवारलाई मतदान गरिएको उनको प्रष्टीकरण छ।
‘रास्वपालाई कुन बेला कसरी हानौँ भनेर बस्नेहरूका लागि रास्वपाले जे निर्णय लिए पनि यो उपयुक्त बेला थियो। पार्टीप्रति इमान्दार पार्टी सदस्य, पार्टीको भलो चिताउने शुभेच्छुक, सुझबुझ र अलिकति चिन्तन गर्ने जनता पार्टीले यस परिस्थितिमा चालेको कदमप्रति निराश हुनुपर्ने कुनै कारण नै छैन’, प्रवक्ता ढकालले भने।
फागुन २६, २०७९ शुक्रबार १०:०५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।