बिहीबार हेर्न नभ्याएपछि प्रधानमन्त्रीविरुद्धको रिटमा आज पहिलो सुनुवाइ हुने
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गरिपाऊँ भन्दै परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ।
बिहीबार तोकिएको पेशी ‘हेर्न नभ्याइने’मा परेपछि सर्वोच्च अदालत प्रशासनले शुक्रबारका लागि मुद्दाको पेशी तोकेको थियो।
मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवीवास गिरीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध छुट्टाछुट्टै रिट दायर गरेका थिए।
ती रिट बिहीबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको थियो। तर, श्रेष्ठको एकल इजलाससँगै संयुक्त इजलास पनि परेकाले उक्त मुद्दा ‘हेर्न नभ्याइने’ भएको थियो।
बिहीबार हेर्न नभ्याइएकाले उक्त रिटको पेशी शुक्रबारका लागि सारिएको थियो।
प्रचण्डले ०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताएका थिए।
प्रचण्डको यही अभिव्यक्तिविरुद्ध अधिवक्ताद्वय ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले सर्वोच्चमा अलगअलग रिट दायर गरेका थिए। अधिवक्ताद्वयको रिटलाई सर्वोच्च प्रशासनले २०७९ कात्तिक २४ गते दरपिठ गरिदिएको थियो।
दरपिठविरुद्ध अधिवक्ताद्वय आरण र बुढाथोकीले सर्वोच्चको इजलासमा निवेदन दिएका थिए। त्यही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खतिवडा र फुयाँलको इजलासले गएको शुक्रबार सर्वोच्च प्रशासनलाई रिट दर्ता गर्न आदेश दिएको हो।
त्यसपछि मंगलबार आरण र गिरीले प्रचण्डविरूद्ध अनुसन्धान गर्न माग गर्दै छुट्टाछुट्टै रिट दर्ता गरेका हुन्।
फागुन २६, २०७९ शुक्रबार ०७:२३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।