निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहन्छु : नवनिर्वाचित राष्ट्रपति पौडेल
काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रपति–संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गरेका छन्।
राष्ट्रपतिमा निर्वाचित भएपछि सबैमा आभार प्रकट गर्दै पौडेलले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने प्रतिज्ञा गरे।
‘नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्’, उनले भनेका छन्।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित हुँदै गर्दा २००७ सालको जनक्रान्तिको आरम्भदेखि प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका निम्ति भएका विभिन्न आन्दोलन, संघर्ष र अभियानमा ज्यान गुमाउने सबै सपूत शहीदप्रति श्रद्धासुमन अर्पण गरेका छन्।
नवनिर्वाचित राष्ट्रपति पौडेलले आफूलाई साझा उम्मेद्वारका रूपमा प्रस्तुत गर्ने र सहयोग गर्ने गठबन्धन दलहरु एवं मतदान गर्नेहरूप्रति मतदाताप्रति आभार व्यक्त गरेका छन्।
उनले मित्रवत् प्रतिस्पर्धा गरेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, उनको दलाई पजि सम्मान प्रकट गरेका छन्। ‘मलाई प्रतिनिधिसभा र संविधानसभामा विजयी गराई निरन्तर सेवा गर्ने अवसर दिनुभएकामा तनहुँ जिल्लावासी तथा मतदाताहरूलाई पनि हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु’, उनले भनेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत नौ दलको समर्थनमा पौडेल बुधबार राष्ट्रपतिमा निर्वाचित भएका हुन्। आज सम्पन्न राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपतिपौडेलले ३३ हजार ८०२ र प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत प्राप्त गरेका थिए।
फागुन २६, २०७९ शुक्रबार ०७:१३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।