बुटवलमा मनाइयो मृगौला दिवस (फोटो फिचर)
बुटवल : आज विश्व मृगौला दिवस। बुटवलमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले जनचेतना र्यालीको आयोजना गरेर विश्व मृगौला दिवस मनाएको हो।
दिवसको अवसरमा बुटवलको योगिकुटीबाट सुरू गरिएको जनचेतना र्याली मुटु अस्पतालमा पुगेर कोण सभामा परिणत भएको थियो।
र्यालीमा सहभागीहरूले मध्यपान जहरपान, दिनमा कम्तीमा १० हजार पाइला हिड्ने गरौँ, नियमित व्यायाम गर्ने बानीको विकास गरौँ, जनचेतना बढाऔं मृगौला रोग लाग्नबाट बचौं र बचाऔं लगाएतका प्ला कार्ड बोकेका थिए।
कोण सभामा अस्पतालका अध्यक्ष एजाज आलमले खानपिन र आनीबानीमा सुधार गर्न सके मृगौला रोगबाट बच्न सकिने भन्दै समाजलाई मृगौला रोग बारे सचेतना जगाउन र्यालीको आयोजना गरेको बताए।
अस्पतालका निर्देशक डा. समिर गौतम ८० प्रतिशत मृगौला बिग्रिएपछि मात्र बिरामीमा लक्षणहरू देखिन थाल्ने भन्दै समय-समयमा मृगौला परीक्षण गराउन सबैलाई आग्रह गरे।
मृगौला बिग्रन नदिन आफ्नो शरीरको वजन अनुसार दिनमा तीनदेखि पाँच लिटरसम्म पिसाब लाग्ने गरी पानी पिउन, हरेक दिन आधा घण्टा हिड्न, पर्याप्त निन्द्रा पुग्ने गरी सुत्न, धेरै गुलियो पदार्थहरु नखाने, मासु धेरै नखाने, उमेर बढ्दै गएपछि मासु नखाने, उमेर बढ्दै गएपछि दुध, दहि कम खान, मैदाको परिकारहरु सकेसम्म नखाने वा कम खाने, दाल, भात, तरकारी तथा सागसब्जी र फलफूल खान, खाना खाने तथा खाजा खाने समयको नियमित रुटिङ बनाउन उनले सबैलाई सुझाव दिए।
वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. विशाल केसीले खानपान र व्यायाममा सन्तुलिन कायम गर्न सके मृगौलालाई स्वस्थ राख्न सकिने बताए।
अर्का मृगौला रोग विशेषज्ञ डा. अभिषेक शाक्यले मृगौला रोगको सिघ्र पहिचान तथा र त्यसको समयमै निदान नै मृगौला स्वस्थ्य राख्ने मुख्य उपाय भएको बताए।
अर्का मृगौला रोग विशेषज्ञ डा. राजेश पञ्जीयारले नेपाल लगायतका बिकासोन्मुख मुलुकहरुमा पनि मृगौला रोगीहरुको संख्या अत्यन्त चुनौतिपूर्ण रुपमा बढेको बताए।
फागुन २५, २०७९ बिहीबार ०९:२२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।