प्रधानमन्त्री दाहालविरुद्धको रिटमा सर्वोच्चमा आज सुनुवाइ हुने, तक्काल पक्राउ गरी मुद्दा चलाउन माग

प्रधानमन्त्री दाहालविरुद्धको रिटमा सर्वोच्चमा आज सुनुवाइ हुने, तक्काल पक्राउ गरी मुद्दा चलाउन माग

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको आज सुनुवाइ हुँदैछ।

गत मंगलबार प्रचण्डलाई पक्राउ गरी मुद्दा चलाउन अन्तरिम आदेशको माग गर्दै रिट दर्ता गरिएको हो। द्वन्द्वपीडितका तर्फबाट अधिवक्ताद्वय ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीले दुईवटा रिट दायर गरेका छन्।

माघी पर्वका अवसरमा माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले २०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा ‘सामन्ती राजाहरूले १२ हजार जनता मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए।

‘मलाई भन्ने गरिन्छ, १७ हजार मारेर आएको। साथीहरू, यो सत्य होइन। सत्य के हो भन्न दिनुस्। हिजोका सामन्ती राजाहरूले १२ हजार मारेका हुन्। मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु,’ ३ वर्षअघिको कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘तर हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन। मैले सधैं भन्ने गरेको छु, हिजोको युद्धमा भएका राम्रा–नराम्रा काममा म जिम्मेवारी लिन्छु। म त्यसबाट भाग्ने हुनै सक्दिन। तर नगरेको कामको दोष पनि मलाई थुपार्नु भएन।’

दाहालको यही सार्वजनिक अभिव्यक्तिका विरुद्धमा रिट परेको हो।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको अघिल्लो शुक्रबारको इजलासले दाहालले दिएको अभिव्यक्तिविरुद्धको रिट दर्ताका लागि सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।

प्रचण्डको अभिव्यक्तिविरुद्ध अधिवक्ताद्वय आरण र बुढाथोकीले सर्वोच्चमा अलग–अलग रिट दायर गरेका थिए। तर उनीहरूको रिटलाई सर्वोच्च प्रशासनले २०७९ कात्तिक २४ गते दरपीठ गरिदिएको थियो।

दरपीठविरुद्ध उनीहरूले सर्वोच्चको इजलासमा निवेदन दिए। त्यही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खतिवडा र फुयाँलको इजलासले गएको शुक्रबार सर्वोच्च प्रशासनलाई रिट दर्ता गर्न आदेश दिएको हो। 

अधिवक्ताद्वयले सर्वोच्चको इजलासमा दिएको निवेदनमा माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गरी अनुसन्धान र कारबाही गर्नु माग गरिएको छ।

सर्वोच्चमा रिट दर्ता भएपछि माओवादी घटक दल एकै ठाउँ भएका छन्। उनीहरुले माओवादीलाई अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा परिरहेको जनाएका छन्।

फागुन २५, २०७९ बिहीबार ०७:५५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।