राष्ट्रपति मतदानमा राप्रपाबाट धोका पाएको एमालेले रास्वपाको साथ पाउला !

राष्ट्रपति मतदानमा राप्रपाबाट धोका पाएको एमालेले रास्वपाको साथ पाउला !

काठमाडौं : तेस्रो राष्ट्रपति छान्न बिहीबार बिहान १० बजेबाट मतदान सुरु हुँदै छ। दिउस तीन बजेसम्म चल्ने मतदानले राष्ट्रपतिमा रामचन्द्र पौडेल या सुवासचन्द्र नेम्वाङ भन्ने तय गर्नेछ।

तर राष्ट्रिय स्वतन्त्र पार्टीले भने राष्ट्रपतिको मतदान सुरु भइसकेपछि ११ बजे मतदानबारे निर्णय लिन बैठक राखेको छ।

दुई उम्मेदवारमध्ये माओवादी केन्द्रसहितको आठ दल कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा छन्। एमालेका उम्मेदवार नेम्वाङको पक्षमा थप दल खुलेका छैनन्।

एमालेलाई सघाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा कसलाई मत दिने निर्णयमा पुग्न नसकेपछि तटस्थ बस्ने निर्णयमा पुगिसकेको छ। रास्वपाले उनलाई साथ दिन्छ या पौडेललाई खुलेको छैन।

रास्वपमा ह्विप नलगाई उम्मेदवार छान्ने अधिकार मतदातालाई छाड्न सक्ने सम्भावना पनि उत्तिकै छ।

१० बजेबाट सुरु हुने मतदानका लागि मतदान स्थल बनिसकेका छन्। मतदान स्थलमा मोबाइल लैजान पाइँदैन। लगे जफत हुनेछ।

बेलुका सात बजेभित्र परिणाम समेत सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी देखिन्छ।

गणतन्त्र स्थापनापछि पहिलो राष्ट्रपति डा रामवरण यादव निर्वाचित भएका थिए। दोस्रो र तेस्रो कार्यकालको लागि विद्या भण्डारी निर्वाचित भइन्।

सात दलीय गठबन्धनबाट मात्र राष्ट्रपति चयन गर्ने कि राष्ट्रिय सहमति खोज्ने भन्ने विवादमा नयाँ गठबन्धन बनेपछि आठ दलबाट पौडेल उम्मेदवार बने। उता एमालेबाट नेम्वाङ। दुवै पूर्व सभामुख हुन्। 

२५ फागुन, २०७९, ०७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।