घरेलु मैदानमा नेपाल पिएनजीसँग भिड्दै, जित्नैपर्ने दवाव

घरेलु मैदानमा नेपाल पिएनजीसँग भिड्दै, जित्नैपर्ने दवाव

काठमाडौं : आईसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ।

खेल कीर्तिपुरस्थित टियु मैदानमा विहान साढे ९ बजेबाट सुरू हुनेछ। फागुन २८ मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ भने फागुन २९ मा पपुवा न्युगिनीसँग र पुन: चैत २ मा यूएईसँग खेल्नेछ।

नेपालले युएई भ्रमणमा तीन जित निकाल्दै ६ अंक बटुल्न सफल भएको थियो। पहिलो खेलमा नेपालले पपुवान्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो।

दोस्रो खेलमा युएईले नेपालविरुद्ध ६८ रनको जित निकाल्यो। तेस्रो खेलमा नेपालले पपुवान्युगिनीलाई ३ विकेटले हराउँदा अन्तिम खेलमा युएईमाथि ४२ रनकाे जित दर्ता गरेको थियो।

नेपाली टिमले पछिल्ला ८ खेलमा ७ जित निकाल्न सफल छ। अघिल्लो साता सम्पन्न स्कटल्याण्ड र नामिबियाविरुद्धको सिरिज क्लिनस्विप गर्दै नेपालले ८ अंक बटुलेको थियो। अब हुने सिरिजमा दुई खेलमा मात्र जित निकाले नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने छ।

यदि नेपालले सिरिज क्लिनस्विप गरेमा नेपाल शीर्ष तीनमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर्समा स्थान बनाउन सफल हुनेछ।

नेपालले सिरिज क्लिनस्वीप गर्दै चार खेल जित्ने र युएईले दुई खेलमा मात्र जित निकाल्ने अवस्था आए नेपाल शीर्ष तीनमा रहने छ भने युएईले शीर्ष पाँचमा रहे अमेरिकासँग नेट रनरेटमा भर पर्नु पर्नेछ। अमेरिकाको शीर्ष पाँचको भविष्य पनि नेपालकै नजितामा निर्भर रहनेछ।

अंक तालिकामा नेपालले ३२ खेलमा ३२ अंक बनाएको छ। समान ३२ खेल खेलेको युएईको ३१ अंक छ। नेपाल पाचौं स्थानमा उक्लिँदा युएई भने छैटौं स्थानमा झरेको छ। सातौं स्थानमा रहँदै पीएनजी घटुवा हुने पक्का भइसकेको छ।

५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ। ३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ। ३५ अंकसहित अमेरिका चौथो स्थानमा छ।

स्कटल्याण्डको पहिलो र ओमानको दोस्रो स्थान पक्का छ। बाँकी चार टिमको भविष्य निर्धारण लिग टूको अन्तिम सिरिजले नै गर्नेछ।

फागुन २५, २०७९ बिहीबार ०७:४९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।