विवादमा गायक राजेश पायल, काखे छोरालाई तातो पानी खन्याएको गम्भीर आरोप
काठमाडौँ : गायक राजेश पायल राईले आफ्नो काखे छोरालाई तातो पानी खन्याएको गम्भीर आरोप लागेको छ।
विवाह गरेर सन्तान जन्माइसके पनि सार्वजनिक रूपमा नस्विकारेका राईमाथि यो आरोप उनकै श्रीमतीले सामाजिक सञ्जाल मार्फत लगाएकी हुन्।
तर सो आरोप पोस्ट भएको केही समयमै उनको फेसबुक अकाउन्ट नै डिएक्टिभेट भएको छ।
राई आफ्नै फ्यान साङबुङसँग लिभइन रिलेसनमा रहेको धेरै अगाडि सार्वजनिक भएको थियो।
दुवैको सन्तान जन्मिएपछि दुवैको विवाह भएको सार्वजनिक भयो। राजेश बाबु बनेको पनि उनले हैन श्रीमतीले टिकटकबाट सार्वजनिक गरेकी थिइन्। आफ्नो वैवाहिक अवस्थाबारे राजेश मौन नै बसे।
मङ्गलवार दिउँसो एकाएक राईकी श्रीमती साङ्गवुङ राईले फेसबुकमा ‘आज मेरो दुधे बालक (जसको बोली पनि फुटेको छैन) लाई तातो पानी खन्यायो।
भोलि गएर हामी आमा छोरालाई तातो पानी खन्याउन पनि बेर लगाउँदैन। मेरो सानु छिटो निको हुनु, पापी बाउ !’ भनेर लेखिन्।
उनले कसैको नाम नलेखे पनि पापी भनिएका बाबु राजेश नै थिए। उनी र राजेशको कानुनी सम्बन्धबारे प्रश्न उठेपछि उनले विवाह दर्ताको प्रमाण पत्र नै सार्वजनिक गरिन्।
त्यसको केही समयपछि उनको फेसबुक पेज नै डिएक्टिभेट भयो।
उनले सार्वजनिक गरेको विवाह दर्ता प्रमाण पत्र अनुसार विवाह दर्ता २०७९ मङ्सिर २६ मा काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ मा भएको हो।
प्रमाण पत्र अनुसार दुबैबिच २०७८ साल भदौ १ गते सामाजिक परम्परा अनुसार विवाह गरेको उल्लेख छ।
तर विवाह दर्ता भने १६ महिनापछि भएको देखिन्छ। उमेरमा पनि उनको श्रीमती राजेशभन्दा २६ वर्ष कान्छी देखिन्छिन्।
यी दुवैको सम्बन्धबारे जानकारका अनुसार फ्यानको रूपमा राजेशसँग निकट भएकी उनको गर्भ बसे पनि राजेश विवाहका लागि तयार थिएनन्। उनले प्रेमिकालाई आफ्नै घरमा राखे र सम्बन्ध लुकाउँदै आए।
बच्चा गर्भमा आएपछि उनी स्विकार्न बाध्य भए। सन्तान पाए पनि उनले सार्वजनिक गरेनन्।
तर साङबुङले तस्बिर टिकटकबाट सार्वजनिक गरिन्। तर राजेश मौन नै बसे। पास्नीको दिन भने उनले केही सम्बन्ध नखुलाई छोराको तस्बिर सार्वजनिक गरेका थिए।
आफ्नो जन्मदिनमा श्रीमतीसँग नाच्दै गरेको भिडियो समेत सार्वजनिक भयो। दुवै खुसी नै देखिन्छन् भिडियोमा।
तर मङ्गलवार एकाएक गम्भीर आरोप सार्वजनिक भयो। साङबुङको फेसबुक पेज अहिले भेटिन्न।
तर उनले लेखेको र सार्वजनिक गरेको विवाह दर्ता प्रमाण पत्र भने भाइरल भइसकेको छ।
फागुन २५, २०७९ बिहीबार ०३:५३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।