ब्याच नम्बर ६९ : ड्याङ गोली चल्यो अनि रोजी पुर्लुक्क ढलिन्, न प्रेमीको बदला पुरा भयो न प्रेमिकाको ज्यानै रह्यो
दुई अङ्क भयो ललितपुरको रोजी महर्जनको हत्या घटना अनि त्यसको अनुसन्धान प्रक्रियाबारे लेख्न थालेको। यो चैँ अन्तिम अङ्क हो यो घटनाको।
यस अगाडि रोजीको शव फेला परेको र हत्या घटनामा संलग्नहरू कसरी पक्राउ परे भन्ने उल्लेख गरेको थिएँ। यो अङ्कमा हत्या योजना कसरी बन्यो अनि किन भयो हत्या भनेर लेख्नेछु।
OOO
रोजी र सुवासबिच विद्यालयबाटै प्रेम सम्बन्ध रहेको देखियो। प्लस टु उत्तीर्ण भएपछि रोजी नेपालमै पढ्न थालिन् उता सुवास भने एमबिएको कोर्स गर्न बेलायत लागे।
एक वर्षको कोर्स गर्न गएका उनी पाँच महिनामै नेपाल फर्किए। नेपाल फर्कनुको कारण रोजीमाथिको शङ्का। रोजी अन्य केटा साथीसँग बोलेको पनि सहन नसक्ने तहमा पुगिसकेका थिए सुवास। आफू बेलायतमा बस्दा यता रोजीको अर्कै केटासँग प्रेम सम्बन्ध हुनसक्ने शङ्काले उनी बेलायतमा टिक्न सकेनन्। नेपाल आइहाले।
नेपाल आएपछि सुवासको व्यवहार बदलिन थाल्यो। सानो-सानो कुरामा समेत उनले रोजीलाई दुख दिन थाले।
अर्कै केटासँग लागेको भनेर सुवासले आत्महत्या गर्छु भनेर मेटासिड समेत खाए। उसलाई रोजीले नै अस्पताल लगेर बचाएकी थिइन्।
अब प्रेममा जवर्जस्ती त हुन्न नि। रोजीले सुवासलाई माया नै गरेको देखियो। तर शङ्कालु बानीले दुवैको सम्बन्ध बिग्रँदै गयो। सुवासको शङ्का हटाउन उनीहरू चोभार घुम्न गएको बेलामा रोजीले सिन्दूर समेत लगाएको देखियो। तर त्यसले पनि सुवासको मनबाट शङ्का हटेन।
शङ्का बढ्दै जाँदा उनी रोजी आफ्नो नभए कसैको हुनै नदिने निष्कर्षमा पुगे। हत्यासम्मको योजना बनाउन थाले।
तर हत्या कहाँ सहज हुन सक्थ्यो र। उनी एक्लैले हत्या गर्ने आँट गर्न सकेनन्। त्यसपछि उनको भेट भयो
सचित खड्का अनि सोलुखुम्बुका हुसेन राईसँग। उनले एक व्यापारीको छोरीको अपहरण गरेर हत्या गर्ने अनि फिरौती रकम लिएर बाँड्ने भनेर सल्लाह गरे। अनि भेटिए कुमार तामाङ अनि कत्ले भन्ने राजु लोहार।
चारै जना अपराधमा सहमत भए। रोजीलाई कहाँ लगेर मार्दा कसैले चालै पाउँदैनन् भनेर ठाउँ खोज्न थाले। ठाउँ खोज्दै जाँदा उनीहरू ललितपुरको नल्लु गाविसको चौघरे सिँगाने भन्ज्याङ क्षेत्र पुगे।
बाटो भए पनि प्राय सुनसानै हुने क्षेत्र अनि घना जङ्गल। त्यहाँ मारेर फाल्दा कसैले चाल नपाउने देखेपछि उनीहरू फर्किए।
ठाउँ हेरेपछि अब हत्याका लागि हतियार खोज्नतिर लागे। कुमारले पेस्तोलको बन्दोबस्त गर्ने भए। त्यसका लागि सुवासले २५ हजार पेस्की दिने भए। गोली हान्ने काम कत्लेले गर्ने भए। अनि रोजीको परिवारसँग ३० लाख फिरौती लिएर १० लाख सुवासले लिने अनि बाँकी २० लाख चार जनालाई बाँड्ने कुरा मिल्यो।
सबै कुरा मिलेपछि जङ्गलसम्म रोजीलाई सुवासले ल्याउने अनि गोली हानेर मार्ने रणनीति बनाए।
त्यही योजना अनुसार सुवासले रोजीलाई घुम्न जाऊँ कि घुम्न जाऊँ भन्न थाले। तर तीन हप्तासम्म घुम्ने कुरै मिलेन।
सुवासले अति कर गरेपछि होस् त भनेर उनी बल्ल घुम्न जान राजी भइन्। उनलाई के थाहा र उनी विरुद्ध रचिएको खेलको।
२०६८ साउन २० गते बिहानै रोजी स्कुटर लिएर कलेज जान्छु भनेर घरबाट निस्किइन्। तर उनी कलेजतिर लागिनन्। पुल्चोकको रहेको नबिल बैङ्कको पार्किङमा स्कुटर छाडिन्।
सुवासको मोटरसाइकल ल्याएका थिए। त्यही मोटरसाइकलमा उनीहरू घुम्न निस्किए। सुवासले घुम्न जाने मात्रै भनेका थिए। तर कहाँ जाने भनेका थिएनन्।
रोजी घुम्न जान राजी भएपछि उनले टिमलाई खबर गरिसकेका थिए। खबर पाए लगत्तै रोजी र सुवास नल्लुको जङ्गल क्षेत्रमा पुग्नु अगाडि नै उनीहरू गएर कुर्न थाले।
मोटरसाइकलको पछाडि रोजी थिइन्। जब उनीहरूले चयन गरेको ठाउँ आइपुग्यो सुवासले मोटरसाइकल रोके। रोजी झरेकी थिइनन्। उनी सुवाससँग कुरा गर्दागर्दै कत्लेले रोजीलाई गोली हान्यो। गोली कन्चटमै लाग्यो, उनी मोटरसाइकलबाट पुर्लुक्क लडिन्।
रोजी पक्का मरेको भन्दै पाँचै जनाले उठाएर घना जङ्गलको १ सय मिटर भित्रसम्म लगे। एउटा खोल्ला फेला परेपछि त्यही खोल्सामा फालेर हिँडे।
सुवासको योजना हत्या गरेर बदला लिने थियो। तर अन्यलाई मारे बापत २० लाख दिन्छु भनिसकेका थिए। सुवाससँग त्यत्रो पैसा थिएन।
योजना अनुसारै सुवासले रोजीको मोबाइल लिइसकेका थिए। हत्या त्यस्तै एक बजेतिर भएको हुनुपर्छ।
करिब चार बजेतिर रोजीको मोबाइलबाट घरमा'फिल्म हेर्न गएकी छु, सात बजे फर्कन्छु' भन्ने सन्देश गयो। खाना खान घर आउँछु भनेर हिँडेकी छोरी नफर्कँदा बेचैन भएका महर्जन ढुक्क भए।
तर सात बजे पनि रोजी घर फर्किनन्। खोल्सामा ढलिसकेकी रोजी फर्कनु कसरी। अनि साढे सात बजेतिर फेरि रोजिकै मोबाइलबाट म्यासेज आयो। म्यासेजमा लेखिएको थियो ' रोजी अपहरणमा परेकी छिन्। छोरी ज्युँदै चाहने हो भने ३० लाख दिनु। नत्र गोली हानेर मारेर भिडियो पठाउँछौँ।'
म्यासेज आएपछि डराएको महर्जन परिवार प्रहरीको सम्पर्कमा आयो। अनि हामीले अनुसन्धान सुरु गर्यौँ।
यो बिचमा पनि उनीहरूले फिरौती मागिरहेका थिए। अनुसन्धान निचोडमा नपुगेसम्म उनीहरूलाई झुलाउन परिवारलाई त्यत्रो पैसा त दिन सक्दैनौ भनेर बार्गेनिङ गर्न लगाउने, रोजीसँग कुरा गराउनुस् भन्न लगाउने गरिरहेका थियौँ।
पहिलो शंकामा त सुवास नै थिए। फकाउँदा फकाउँदा बल्ल बल्ल उसले स्कुटर राखेको ठाउँ देखायो। त्यसपछि त अपहरणमा उही संलग्न छ भन्ने पक्का भइहाल्यो। त्यसपछि लामो समय कुरा लुकाएर बस्न सकेन सुवास। उसले जङ्गलमा लगेर मारेको सकार्यो।
किन मारेको भनेर सोध्दा उसले'रोजीसँग ३ वर्ष लामो प्रेम सम्बन्ध रहेको, अरू केटासँग बोलेको अनि हिँडेको पनि सहन नसक्ने भएँ। मलाई वास्ता गर्न छाडिन् अनि मारेँ पो भन्यो।
उसले अपराध सकार्दा रात परिसकेको थियो। अनि अपराध महाशाखाको टोलीले बेलुकै उसलाई लिएर जङ्गलमा पुगे पनि अँध्यारो भइसकेको थियो।
टर्च बालेर खोज्न थाल्यो टोली। उसले कहिले कता त कहिले कता पुर्यायो। बल्लबल्ल खोल्सामा शव फेला पर्यो। शव गन्हाइसकेकाले पहिल्यै मारेर फालेको देखिइहाल्यो।
अनि सुरु भयो समूह खोज्न। सचित, हुसेनले शव उठाएर फाल्न सघाएको देखियो। प्रहरीले दुबैलाई प पक्राउ गरिहाल्यो। कुमार भन्नेले हतियार ल्याएको अनि राजु भन्ने कत्लेले गोली हानेको खुल्यो।
दुवै खोज्यौँ। तर फेला परेनन्। भागिसकेछन्। फिरौती त आएन। अनि रोजी हराएकोबारे प्रहरीले अनुसन्धान सुरु गरेको थाहा पाएपछि सुवासले आफ्नो मोटरसाइकल १ लाख ५० हजार रुपैयाँमा बेचेर प्रकाश र राजुलाई दिएको रहेछ। उनीहरू त्यही पैसा लिएर भागे। जति गर्दा पनि ती दुवै जना पक्राउ नपरेपछि हामीले अनुसन्धानको संक्षेपसहित पक्राउ परेका तीनै जनालाई सार्वजनिक गर्यौ।
केही समयपछि राजु पनि पक्राउ पर्यो। बिचमा नाम नखुलेको सुमन ठाडा मगर पनि समातियो। प्रकाश भने भागेको भाग्यै।
काठमाडौँ बाहिर समातिएका राजुलाई काठमाडौँ ल्याएर सोध्दा सुवासले २० लाख दिन्छु भन्यो अनि मारेको भन्यो।
यत्रो ठुलो क्षति तर कारण सामान्य। एउटाको पागलपनले फाइदा कसलाई भयो र! प्रेमीको शङ्कालु बानीले बेकारमा रोजीको कलिलैमा ज्यान गयो। युवा उमेरमै सुवास सहित चार जना जेल पुगे। महर्जन परिवारले छोरी गुमाए।
सामान्य विषयमा यति गम्भीर अपराध हुँदा अनुसन्धान सफल भए पनि प्रहरी पनि खुसी हुन्न नि।
OOO
पहिला महर्जन समुदायले प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्छन् भनेर पत्याएकै थिएनन्। त्यसैले त रोजीको शव फेला पारेर सुवाससहित तीन जना पक्राउ गर्दा पनि उनीहरूले बाँकी दुई जनालाई नसमाती शवै बुझ्दिन भनेर विरोधै गरेका थिए। प्रहरीले बल्ल बल्ल सम्झाएपछि शव बुझेका थिए।
प्रहरीले कति मिहिनेत गरेर अनुसन्धान गरेको रहेछ भन्ने बुझेपछि उनीहरू खुसी भए। ललितपुरको ज्यापू समाजले प्रहरीको सम्मानमा कार्यक्रम राख्यो। अनुसन्धानको नेतृत्व गरेको ह्रदय थापालाई पठाए सम्मानमा।
'सर भव्य सम्मान गरे' भन्दै थापा खुसी हुँदै आए। कामको जस पाउँदा को खुसी हुन्न र!
(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डिआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ।)
फागुन २४, २०७९ बुधबार २०:३७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।