​​​​​​​घरेलु मैदान भएकाले हामीलाई सहज छ, सबै खेल जित्ने अपेक्षा राखेका छौं : कप्तान पौडेल

​​​​​​​घरेलु मैदान भएकाले हामीलाई सहज छ, सबै खेल जित्ने अपेक्षा राखेका छौं : कप्तान पौडेल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले घरेलु मैदानमा हुने श्रृंखलाका सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्य रहेको बताएका छन्।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालमा बिहीबारदेखी अन्तिम श्रृंखला हुँदैछ। यस श्रृंखलामा नेपालसँगै युएई र पिएनजीले सहभागिता जनाउँदै छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुने श्रृंखलामा नेपालले सबै खेल जितेमा सोझै विश्वकप छनोटमा खेल्ने मौका पाउने भएकाले नेपालका कप्तान पौडेलले सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ खेल्ने बताए।

उनले भने, ‘पछिल्लो पटक खेलेका देशहरूसँग नै पुनः घरेलु मैदानमा खेल्दा नेपाली टोलीलाई दर्शकको साथ हुनेछ। साथै ति दुवै टोलीको बलिङ र ब्याटिङ पक्ष सबै थाहा भइसकेकाले हामीलाई खेल्न अझ सहज हुनेछ।’

घरेलु मैदान भएकाले पनि नेपाली टोलीका लागि थप सहज हुने उनको तर्क छ।

श्रृंखलाका सबै, चारैवटा खेल जितेमा नेपालले लिगको शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खल्न पाउँछ।

शीर्ष तीनमा अटाउनका लागि गरिएको योजना अनुसार श्रृंखलाका खेलहरू भइरहेको र अन्तिम श्रृंखलामा पनि अपेक्षा अनुसारको नतिजा आउने कप्तानले बताए।

‘युएई भ्रमणमा ब्याटिङ पक्षमा केही कठिन भएको थियो। तर कीर्तिपुर मैदानको अवस्थासँग सबै खेलाडी अभ्यस्त छन्। राम्रो खेल हुने विश्वास छ,’ उनले थपे।

उनले कुशल भुर्तेल चोटमुक्त भएकाले खेलमा फर्किने समेत उल्लेख गरे।

यस्तै प्रशिक्षक मोन्टी देशाईले भने यिनै चार खेलमा आफू केन्द्रित रहेको र सबै खेल कठिन भएको बताए।

‘युएई र पिएनजी दुवै टोली बलियो प्रतिद्वन्द्वी हुन्। लिगको अन्तिम श्रृंखला भएकाले खेलहरू प्रतिष्पर्धात्मक हुनेछ,’ उनले भने।

लिग-२ को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले घरेलु मैदानमा चारवटै खेल जित्नुपर्ने हुन्छ भने एकदिवसीय मान्यता जोगाउन कम्तीमा दुई खेल जित्नुपर्ने अवस्था छ।

फागुन २४, २०७९ बुधबार १९:४२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।