राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने, लिङ्देन भन्छन् : दुवै उम्मेदवार संविधानप्रति निष्पक्ष छैनन्

राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने, लिङ्देन भन्छन् : दुवै उम्मेदवार संविधानप्रति निष्पक्ष छैनन्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ।

राप्रपाको आज (बुधबार) पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

उनले राप्रपाले राष्ट्रपतिको निर्वाचनमा सहभागी हुने/नहुने, मतदान गर्ने/नगर्ने भन्ने विषयमा लामो छलफल गरेर अन्ततः सर्वसम्मत ढंगले यो निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको बताए।

बैठकपछि लिङ्देन भने, ‘राष्ट्रपतिका दुवै उम्मेदवार संविधानको भावना अनुरूप निष्पक्ष हुन नसक्ने सम्भावना देखेर हामीले मतदानमा सहभागी नहुने निर्णय गरेका हौं। दुई राष्ट्रपतिको कार्यकाल विवादित रह्यो। दल निरपेक्ष नरहेको आरोप लाग्यो। अहिलेका उम्मेदवारहरू पनि निष्पक्ष हुन्छन् जस्तो लागेन।’

‘अहिले सैद्धान्तिक रुपमा राष्ट्रपति भन्ने संस्थासँगै हाम्रो फरक मत छ। त्यो त आफ्नो ठाउँमा छँदैछ। तर, त्यो भन्दा पनि अहिले राष्ट्रपतिलाई संविधानले जुन संवैधानिक वा सेरेमोनियल संस्था, राष्ट्रको अभिभावकीय, निष्पक्ष संस्थाको रुपमा परिकल्पना गरेको छ,’ उनले भने, ‘अहिले उम्मेदवार बन्नु भएका दुवै उम्मेदवारहरू सक्रिय राजनीतिमा रहनु भएको, दुवै जना भर्खरै एक/एक वटा राजनीतिक पार्टीबाट प्रतिनिधिसभाको निर्वाचित हुनु भएको व्यक्तित्वहरू हुनुहुन्छ।’

‘उहाँहरूबाट त्यो अभिभावकीय भूमिका र त्यो निष्पक्षताको हामीले परिकल्पना गर्न सक्दैनौं। त्यसकारणले यो निर्वाचनमा हामी चाहिं तटस्थ बस्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेका हौं,’ उनले थपे।

राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न आज राप्रपाको कार्यसम्पादन समितिको बैठक बसेको थियो। बैठकमा अधिकांश नेताले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने उल्लेख गरेका थिए।

आफूहरूको सिद्धान्त राजसंस्था भएकाले राष्ट्रपतिको निर्वाचनमा भाग लिन नहुने उनीहरूको तर्क थियो।

राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् भने गठबन्धन बाहिर रहेको एमालेले सुवास चन्द्र नेम्वाङलाई अघि सारेको छ।

निर्वाचन आयोगले भोलि (बिहीबार) बानेश्वरस्थित संसद भवन परिसरमा राष्ट्रपतिको निर्वाचन गर्दैछ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार राष्ट्रपति चयनका लागि भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

साथै भोलि बेलुका ७ बजेसम्ममा निर्वाचनको परिणाम पनि आइसक्ने आयोगले जनाएको छ। यस निर्वाचनमा संघीय संसद्का सदस्यहरू र प्रदेशसभाका सदस्यहरूले मतदान गर्ने छन्।

फागुन २४, २०७९ बुधबार १८:१७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।