दलहरू आफू ठिक ढंगले चल्दैनन्, दोष भने संविधानलाई दिन्छन् : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना
काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद र सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका छन्।
बुधबार पारिवारिक निजी वन संघ नेपालको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलहरू आफू ठीक ढंगले नचल्ने तर दोष भने संविधान, कानुन र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने उल्लेख गरे।
उनले नेपालमा विगतमा पटक पटक संविधान विघटन भएकाले संविधानमै विघटन नै नगर्ने कुरा उल्लेख हुँदा संसदबारे अहिले विरोधाभास भइरहेको बताए।
उनले सरकारले केही गर्न नसक्ने अवस्था सिर्जना हुँदा संसद विघटन गरी जनतामा जाने कुरालाई राजनीतिक दलहरूले नै अन्देखा गर्ने गरेको बताए।
उनले भने, ‘१२/१५ वटा पार्टी मिलेका छन्, नचले पनि घस्रेर ५ वर्ष त केही गर्नु हुँदैन। कस्तो विडम्बना भागबन्डा गरेको छ, पार्टी फुटायो, एउटा पार्टी फुटाउन अध्यादेश ल्याएको छ, अर्को पार्टी जोड्न अध्यादेश ल्यायो, भागबन्डा गर्यो, मन्त्री बाँड्यो, त्यस्तो गरेपछि विघटन नगराएर बचाउनुपर्ने?’
‘बरु चुनाव गर्यो,अर्को कोही नयाँ आउँथ्यो, नयाँ आएर बहुमत ल्याउँथ्यो, त्यस्तो भएन। हामी आफ्ना बानी सुधार नगर्ने, नियम, ऐन, कानुनलाई दोष दिने। परिवर्तन गर्ने भन्ने, परिवर्तनको चक्र घुमाएर मात्रै हामी कहाँ पुग्छौं?’ उनले थपे।
फागुन २४, २०७९ बुधबार १४:४९:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।